अछाम/'बूढी ! एउटा इमान्दार केटा खोजेर बिहे गर । म जस्तो रक्सी खानेसँग बिहे गर्नु तिम्रो ठूला गल्ती हो । यस्तो केटासँग बिहे गर जसले म भन्दाबढी माया गरोस् । मैले जस्तो चोखो माया गरोस् । जसको धेरै सम्पति होस् म जस्तो गरीब नहोस् । गल्ती तिम्रो होइन के थाहा तिमीलाई म यस्तो छु भनेर । सरी बूढी सरी ।'

२४ बर्षीय लोकेश सोडारीले आत्महत्या गर्नुअघि लेखेर छोडेको सुसाइड नोटमा भेटिएको एउटा अनुच्छेद हो यो । सँगै जीवन ज्यूने बाचा कसम खाएर बिहे गरेको दुई महिना नपुग्दै लोकेशले सधैँका लागि संसार छोडेर गए । उनको मृत्युबाट भर्खरै घर भित्याईएकी श्रीमती बेला मात्र नभएर सिंगो परिवार, गाउँ तथा साथीसंङ्गी,आफन्त सबै शोकमा डुबेका छन् । मंगलसेन नगरपालिका-१४ कालागाउँका लोकेशले झुण्डिएर आत्महत्या गर्नु अघि लेखेको 'सुसाइड नोट'मा श्रीमतीलाई मात्र होईन आमा, बुबा, साथीभाई सबैलाई सम्झेका छन् । साढे पाँच पृष्ठ लामो 'सुसाईट नोट'मा घरपरिवार साथीसंगीसँग माफी माग्नेदेखि लिएर आफूले तिर्नुपर्ने ऋणको विवरण सम्म लेखेका छन् ।

'हजुरको नालायक छोरो गयो' आमालाई सम्बोधन गर्दै उनले लेखेका छन् । 'बुबा हजुरलाई सधैँ रुवाएँ, हजुरको अनुहारमा खुसी ल्याउने सपना अधुरो रहयो । म बाँचे पनि हजुरलाई खुसी पार्न सक्दैनथ्ये ।' बाबुलाई सम्बोधन गर्दै नोटमा उनले लेखेका छन् । लोकेश चार महिनादेखि छिमेकी ओलीगाउँको मंगलानेर उच्च माविमा निजीस्रोतको शिक्षकको रुपमा काम गर्दै आएका थिए । उनी लोकेश चैत्र २ गते विद्यालयमा जान्छु भनी श्रीमतीसँग छुट्टिएका थिए । विद्यालय नपुग्दै बीच बाटोमा पर्ने जुपुको जंगलको एउटा रुखमा ज्याकेटको डोरीले झुण्डिएर आत्म हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।'Every Leving bings needs freedom' उनको सुसाईट नोटमा यो पनि छ । चार साथीबाट सापटी लिएको साढे सात हजार रुपैँया तिनुपर्ने हिसावसमेत नोटमा लेखेका उनले उक्त रकम आफ्नै खल्तीमा रहेको रकमबाट तिरिदिन पनि भनेका छन् । उनको खल्तीमा नौ हजार दुई सय २५ रुपैँया पनि भेटिएको प्रहरीले जनाएको छ । तिखो दिमाग र पढाईमा निकै मिहेनती लोकेश गाउँका सबैको आशाका केन्द्र रहेको गाउँलेहरु बताउछन् । बीएस्सी सम्मको अध्ययन गरेका लोकेशले दुई पटकसम्म नेपाली सेनाको सेकेन्ड लेफ्टिनेन्टको लिखित परीक्षामा नाम निकालेका थिए । लिखितमा दुई-दुई पटक नाम निकाल्दा पनि मागेजती पैँसा दिन सक्दा मौखिकमा फेल भएपछि उनमा ठूलो निराशा छाएको लोकेशका भिनाजु रमेश रावलले सुनाए । 'नेपाली सेनामै जागिर खाएर राष्ट्रको सेवा गर्ने उनमा ठूलो धोको थियो' रावलले भने-'नेपाली सेनाको प्रमुख पदमा पुग्ने लक्ष्य सुनाउने गरेको मान्छे दुइ पटक मौखिकमा फेल भएपछि सारै निराश थियो।' अन्नपुर्ण अनलाइर्नमा समाचार छ । पछिल्लो सयम कोरिएन भाषा परीक्षासमेत उत्तीर्ण गरेर भिसा आउने अन्तिम अवस्थामा पुगेको पनि रावलले जानकारी दिए । एकोहोरो स्वभावका उनले खासमा के कारणले आत्महत्या गरेको हो भन्ने कुरा भने बुभ्mन नसकेको रावलले सुनाए ।

लोकेश कालागाउँ गाविसका पूर्व अध्यक्ष तथा सुकुम्बासी समस्या समाधान आयोग अछामका अध्यक्षसमेत रहेका बलबहादुर सोडारीका कान्छा छोरा हुन् । निमित्त जिल्ला प्रहरी प्रमुख महेन्द्र कलौनीले मिहेनतको कदर हुन नसकेको देखेर जीवनदेखि नै निराश भएर आत्महत्या गरेको हुन सक्ने बताए । उनले चालु आर्थिक बर्षको सुरुदेखि हालसम्म अछाममा १५ ले आत्महत्या गरेकोमा १७ देखि २५ बर्ष उमेर समुहका युवा युवतीको संख्या बढी रहेको जानकारी दिए ।