म्याग्दी/मालिका गाउँपालिका–५ दरवाङका खिमबहादुर खत्रीले बङ्गुरपालनबाट वार्षिक रु दश लाख आम्दानी गर्दैआएका छन्।

कतारमा तीन वर्ष काम गरेर फर्किएका खत्रीले रु ५० हजार लागतमा फार्म सञ्चालन गरेका हुन् । तीनवटा पाठापाठीबाट सुरु गरेको सो बङ्गुर फार्मको पुँजी अहिले रु ३० लाख पुगेको छ ।

हाल उनको फार्ममा ५० वटा बङ्गुर रहेका छन् । उनले वार्षिक १२५ वटाभन्दा बढी बङ्गुर र पाठापाठी बिक्री गर्दै आएक छन् । उनको फार्ममा छजनाले रोजगारी पाएका छन् । पाठापाठी पाल्नका लागि तथा हुर्किएर ठूला भएका बङ्गुर मासुका लागि बिक्री गर्दै आएको उनले बताए ।

कम लगानीमा छिटो आम्दानी लिनका लागि बङ्गुरपालन उपयोगी माध्यम भएको खत्रीको भनाइ छ । उनलाई जिल्ला पशुसेवा कार्यालयले गत वर्ष युवा स्वरोजगार कार्यक्रमअन्तर्गत रु एक लाख अनुदान उपलब्ध गराएको थियो । सरकारले सहज रुपमा सर्भसुलभ ब्याजदरमा ऋण र बजार व्यवस्थापनका लागि सहयोग गर्न सके स्वदेशमै उद्यम व्यवसाय गर्ने वातावरण बन्ने खत्रीले बताए । बङ्गुरपालनसँगै उनले कुखुरापालन समेत गर्दैआउएका छन् ।