धनकुटा/ धनकुटाको सिधुवा परिक्षा केन्द्रवाट एस.इ.इ. परिक्षा दिएर घर फर्कदै गरेका तिन विद्यार्थी यात्रुवाहक वसको ठक्करवाट सोमवार दिउँसो गम्भिर घाईते भएका छन् ।
को.१ख.२९३२ नम्वरको संखुवासभाको मुढेसन्सरेवाट धरानको लागी आईरहेको यात्रु वाहक बस छथर गाउँपालिका अन्तर्गत साविक हात्तिखर्क गाविस वडा नं.८ स्थित् जोरपाटी वजार नजिकै ब्रेकफेल हुँदा परिक्षा दिएर घर फर्कदै गरेका एक छात्र र दुई छात्रा घाईते भएका हुन्।
घाईते हुने छात्रा वर्ष १६ कि अन्जना सारु मगर, वर्ष १६ कै एसिना ओझा र छात्रा वर्ष १६ कै दोर्जे शेर्पा गम्भिर घाईते भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताएका छन् ।
बसको ठक्करवाट घाईते भएका विद्यार्थिहरु जोरपार्टी स्थित् सेतो गुराँस वोर्डिङ्ग स्कुलका छात्र–छात्रा रहेको सिधुवा र चुलाचुली परिक्षा केन्द्रको अनुगमनका जिम्मेवारी लिएका जिल्ला शिक्षा कार्यालय धनकुटाका श्रोत व्याक्ति उजररसिंह लिम्वुले ब्लाष्टलाई बताएका छन् ।
उनले बताए अनुसार घाईते मध्ये एसिना ओझाको स्थिती गम्भिर रहेको बताएका छन् । उनीहरुको उपचार जिल्ला अस्पताल धनकुटामा हुन नसकेपछि थप उपचारको लागी विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको बताइएको छ ।
यात्रुवाहक बस दुर्घटना स्थल मै रहेको र बस सडक छोडेर रुखमा अड्किएको ट्राफिक कार्यालय धनकुटाले जनाएको छ । भोजपुर दोभाने घर भएका चालक दिलकुमार राईलाई सिधुवा प्रहरी चौकीले नियन्त्रणमा लिएको छ ।