इटहरी / नेपालका लागि स्वीस राजदूत डा. जर्ज फ्रइडनले नेपाल गरीब देश भएपनि पैसाको कुनै कमी नभएको मुलुकमध्येमा पर्ने बताएका छन् । सीपयुक्त नेपाली बनाउन स्वीसले सबैभन्दा पहिले नेपालमा चिज बनाउने तालिम भिœयाएको स्मरण गर्दै नेपालमा सीपयुक्त युवा बनाउन स्वीस सरकारले ठूलो लगानी गदै आएको उनले बताए । सोमबार इटहरीमा प्राविधिक शिक्षा तथा व्यवसायी तालिम परिषद् (सिटिइभीटी) तथा दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाले स्टेक होल्डरहरुसँग आयोजना गरेको अन्तत्र्रिmयामा बोल्दै राजदूत जर्जले नेपालीहरु विदेशमा रोजगारका लागि धेरै जाने तर सीपविना जाँदा उनीहरुको स्तरोन्नति नभएको बताउँदै सीपयुक्त युवा बनाउन सरकारले वातावरण तयार गर्नुपर्ने बताए । कार्यक्रममा सिटिइभीटीका तालिम निर्देशक महेश भट्टराईले वार्षिक ९ अर्ब रुपैयाँ तालीम क्षेत्रमा लगानी गर्दै आएको बताएका थिए । सिटीभिटी अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिबाट हालसम्म झण्डै तीन लाख ५० हजार व्यक्तिले सीप परीक्षण गराएको उनले जनाए । सरकारले यतिका बजेट तालीममा खर्च गरे पनि बजारमा दक्ष जनशक्तिको अभाव हुनु विडम्बना भएको भन्दै तालीमको आयामहरु परिवर्तन गर्न जरुरी भएको उनको भनाइ थियो । कार्यक्रममा मदन भण्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बरालले उद्यमशीलता विकासमा सरोकारवालाहरु केन्द्रित हुनुपर्ने बताए । कृषि, पशु क्षेत्रलाई समेटेर युवालाई रोजगारमुखी शिक्षाको दिनुको विकल्प नभएको उनको भनाइ थियो । कार्यक्रममा नेपाल व्यवसायिक योग्यता निर्धारण प्रणाली (एनभीक्युएस) परियोजनाका टीम लिडर देवीप्रसाद दाहाल र दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाका टीम लिडर सुवास सुवेदीले पनि बोलेका थिए । सीप तालीम, सीप परीक्षण र अपग्रेट सीप जस्ता विषयलाई परियोजनाले लक्ष्य बनाएको छ । पहिलो चरणमा ६४ हजार व्यक्ति लाभान्वित हुने कार्यक्रममा बताइयो । प्रथम चरणमा निर्माण, पर्यटन, अटोमोबाइल, मेकानिकल, विद्युत् गरी पाँचवटा क्षेत्रमा केन्द्रित हुने बताइएको छ । कार्यक्रममा पूर्वका आठवटा तालीम प्रदायक संस्थाका प्रतिनिधि, उद्योगी, व्यवसायी, जिल्ला शिक्षा अधिकारी, स्थानीय विकास अधिकारी लगायतको उपस्थिति थियो ।