[caption id="attachment_36831" align="alignleft" width="450"] File photo[/caption]

बनेपा/ दूधमा आत्मनिर्भर घोषणा भएको काभ्रेपलाञ्चोकमा गुणस्तरीय दूध उत्पादनका लागि सुधारका काम सुरु गरिएका छन् ।

जिल्ला पशुसेवा कार्यालय, धुलिखेलले गुणस्तरीय दूध उत्पादनका लागि कृषकलाई दूध ढुवानी गर्न अनुदानमा स्टिल ड्रम वितरणका साथै डेरी सुधार कार्यक्रम र पशु आहार मिसन कार्यक्रम सुरु भएको जनाएको छ ।

पशुसेवा कार्यालय प्रमुख डा नारायण श्रेष्ठले दूध सङ्कलन केन्द्रमा फोहर व्यवस्थापनको काम चुनौतीपूर्ण भएको उल्लेख गरे ।

उनले भने – “बेलुकाको दूध सङ्कलन वा दूध ढुवानीका लागि हामी कृषकसँग हातेमालो गर्न तयार छौँ ।”

पशु चिकित्सक डा श्रेष्ठका अनुसार दूध सङ्कलन प्रक्रिया परम्परागत किसिमको छ । गुणस्तरीय दूध उत्पादनका लागि जिल्लामा पशुसेवा कार्यालय, काभ्रेपलाञ्चोकले नश्ल सुधार कार्यक्रम, बकेर्ना भैँसीपालन, पाडापालन कार्यक्रम, युवा लक्ष्यित कार्यक्रमलगायत विभिन्न अनुदानका कार्यक्रमसमेत सञ्चालन गरेको छ ।

दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक माधवप्रसाद ढुङ्गेलले कुल गार्हस्थ्य उत्पादनको नौ प्रतिशत योगदान दूध क्षेत्रबाट भएको औँल्याउँदै दूध उत्पादन अवव्यस्थित रहेको टिप्पणी गरे ।

दुग्ध उत्पादन सहकारी सङ्घका अध्यक्ष नारायण देवकोटाले जिल्लामा भएका ‘मिल्क एनलाइजर’ सञ्चालनमा नआउनु दुखद भएको बताए ।

दुग्ध उत्पादन सहकारी सङ्घ, काभ्रेपलाञ्चोकका अध्यक्ष नारायण बडालले कुनै निश्चित पकेट क्षेत्रका रुपमा दूध उत्पादन मिसन चलाउनुपर्नेमा जोड दिए ।

दुग्ध उत्पादन क्षेत्रका अगुवा कृषक दीपक पौडेलले गुणस्तरीय दूध उत्पादनका लागि ढुवानीमा स्टिल र आल्मुनियमको भाडा प्रयोगमा ल्याउनुपर्ने बताए । काभ्रेपलाञ्चोकमा दैनिक तीन लाख लिटर दूध उत्पादन हुने गर्छ भने करिब दुई लाख ७५ हजार लिटर दूध काठमाडौँ निर्यात हुन्छ ।

-रासस