बुटवल/ पत्रकारिताको मूल्य र मान्यतालाई बचाउन पत्रकारले आचारसंहिताको पालना गर्नुपर्ने सञ्चार सम्बद्ध व्यक्तिले आग्रह गरेका छन् ।

राज्यको चौथो अङ्ग पत्रकारिताले समाजलाई डोर्याउने भएकाले त्यसलाई अनुशासनमा राख्नका लागि पत्रकार आचारसंहिताको पालना गर्नुपर्ने बताएका हुन् ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ रुपन्देहीको समन्वयमा आज बुटवलमा भएको ‘आचारसंहिता र सञ्चारमाध्यमको वर्गीकरण’ विषयक अन्तक्र्रिया कार्यक्रममा आचारसंहिताको पालना गर्न पत्रकारको ध्यानाकर्षण गराइएको हो ।

कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले पत्रकार राज्यको चौथो अङ्ग भएकाले सबैभन्दा बढी जिम्मेवार र मर्यादित हुनुपर्ने बताए । तुलनात्मक रुपमा रुपन्देहीको पत्रकारिता अरु जिल्लाको भन्दा राम्रो भएको बताउँदै उहाँले भएका कमजोरीलाई सुधार गर्न आग्रह गरे ।

प्रेस काउन्सिल नेपालका सदस्य एवम् नेपाल पत्रकार महासङ्घ काठमाडौँका अध्यक्ष गोविन्द चौलागार्इंले पत्रकार आचारसंहिताको पालना प्रत्येक मिडिया हाउसबाट सुरुआत गर्नुपर्ने बताए । उनले पत्रकारले पत्रकार आचारसंहिता २०७३ लाई पढेर पालना गरेमा पत्रकारिताको गुणस्तर बढ्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष बालकृष्ण चापागार्इंले पत्रकार आचारसंहिताको पालना भएमा पत्रकारिताको गुणस्तर वृद्धि हुने बताए । महासङ्घका अर्का पूर्वअध्यक्ष डिआर घिमिरेले पछिल्लो समय विज्ञापनलाई समाचारका रुपमा प्रकाशन–प्रसारण गर्ने काम भइरहेकाले यसको अन्त्य गर्नुपर्ने बताए ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका उपप्रशासकीय अधिकृत मानबहादुर लामिछानेले पत्रकार आचारसंहिताका बारेमा प्रस्तुति दिँदै आचारसंहिता उल्लङ्घन गर्नेलाई काउन्सिलले कारबाहीको दायरामा ल्याउने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ रुपन्देहीका पूर्वअध्यक्ष दीपक ज्ञवाली, मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय उपाध्यक्ष गोविन्द खनाल, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसी, अग्रज पत्रकार मदनलाल पौडेलले स्थानीय तहको निर्वाचन नजिक आएकाले पत्रकार अझ बढी संवेदनशील हुनुपर्ने बेला आएको बताए ।

कार्यक्रममा सहभागीका तर्फबाट पत्रकार वीरेन्द्र कुँवर र एनवी कँडेलले पत्रिका वर्गीकरणमा विभेद हुने गरेको बताए । नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षता कार्यक्रम भएको थियो ।

-रासस