काठमाडौं– केही दिनदेखि हराइरहेकी पर्साको रमगढवा हेल्थ पोष्टकी अहेब बबिता पण्डित नजिकैको जंगलमा मृत भेटिएकी छिन् । उनी जिल्ला जनस्वास्थ्य कार्यालय पर्सा अन्तर्गत उक्त स्वास्थ्यचौकीमा कार्यरत थिइन् ।
हेल्थ असिस्टेन्ट एशोसियसनका पश्चिमाञ्चलका पूर्व संयोजक तीर्थराज आचार्यले दिएको जानकारी अनुसार उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । चैत १३ गते प्रसौनी–८ सिङ्याही खोला किनारमा वेवारिसे अवस्थामा फेला परेको शव अहेब पण्डितको भएको खुलेको हाे। उमेर अन्दाजी २५/२६ वर्षको रहेकी उनी विवाहित हुन्। उनकाे स्थायी ठेगाना सर्लाहीको सिसौटिया हाे । एक वर्षदेखि त्यहाँ कार्यरत थिइन् । गत शुक्रबार कार्यालय गए पनि उनी आइतबार कार्यालय नपुगेपछि स्थानीयले शंका व्यक्त गरेका थिए। शंका लागेर शव पहिचान गर्दा बबिताकाे पहिचान खुलेको हाे । स्वास्थ्यकर्मी र उनीहरुका संघसंस्थाले घटनाको यथार्थ छानविन गरी दोषीलाई कानूनी कटघरामा उभ्याउन माग गरेका छन् ।