काठमाडौँ/ प्रधानसेनापति राजेन्द्र क्षत्री र नेपाल भ्रमण रहेका भारतका स्थलसेनाध्यक्ष जनरल विपीन रावतबीच आज जङ्गी अड्डामा भएको शिष्टाचार भेटवार्तामा आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
उक्त छलफलपछि भारतीय सेनाध्यक्ष रावतले नेपाली सेनाका रथीवृन्दहरुसँग समेत भेट गरेका थिए। प्रधानसेनापति क्षत्रीको औपचारिक निमन्त्रणामा मङ्गलबार चारदिने भ्रमणका लागि उनी आएका हुन्।
भेटपछि जङ्गी अड्डामा आयोजित कार्यक्रममा भारतीय सेनाध्यक्षले प्रधानसेनापति क्षत्रीलाई विभिन्न प्रजातिका सात घोडासमेत हस्तान्तरण गरे। त्यसअघि भारतीय सेनाध्यक्ष रावतले आजै टुँडिखेलस्थित सैनिक मञ्चमा रहेको वीर स्मारिकामा माल्यार्पण गरेका थिए। जङ्गी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले उनको सम्मानमा सम्मान गारतसमेत अर्पण गरेको थियो ।