भद्रपुर / झापामा आत्महत्या गर्नेको संख्या दुई सय ४२ पुगेको पाइएको छ । अञ्चल प्रहरी कार्यालय मेचीले वुधवार भद्रपुरमा आयोजना गरेको आत्महत्या न्यूनीकरण अभियान मार्फत यस्तो जानकारी दिएको हो । मेची अञ्चल प्रहरी कार्यालयका एसएसपी पिताम्बर अधिकारीले विगत तीन आर्थिक वर्षमा पूर्वाञ्चलमा दुई हजार ९ सय १६ , मेची अञ्चलमा एक हजार १२ र झापामा मात्रै २ सय ४२ जनाले आत्महत्या गरेको विवरण सार्वजानिक गरेका थिए । मानिसको अमूल्य जीवनलाई जोगाउन र आत्महत्या जस्तो जघन्य अपराधलाई न्यूनीकरण गर्ने उद्देश्य राखेर कार्यक्रमको आयोजना गरिएको एसएसपी अधिकारीले जनाए । झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा वि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठन धरानका मानसिक रोग विभागका प्रमुख डा. निदेश सापकोटा र टि पी नेपाल दमकका परियोजना व्यवस्थापक डा. शालिकराम भट्टराईले प्रशिक्षण दिएका थिए । कार्यक्रममा प्रमुृख जिल्ला अधिकारी खत्रीले आत्महत्या जस्तो घृणित कार्यबाट जोगिन मानिसले सन्तुलित भोजन गर्नुपर्ने र नियमित रुपमा योग एवं आध्यात्मिक चिन्तन गर्नुपर्ने कुरामा जोड दिए ।