ताप्लेजुङ / गएको चैत ४ गतेबाट पाथीभरा क्षेत्रको पदमार्ग निमार्णमा सक्रिय भएको नेपाली सेनाको टोलीलाई हाल मलेसियामा कार्यरत एक नेपालीले १५ हजार बराबरको खसी उपहार दिएका छन् ।
३ हजार ७ मिटर उचाईमा रहेको पाथीभरा मन्दिरको पदमार्ग स्त्तरोन्नतीका लागि नेपाली सेनाको २१ नंबर बाहिनीको समन्वयमा काममा खटिएको टोलीका लागि तेह्थुम चुहानडाँडा घर भई हाल मलेसियामा रहेका चुडामणि तिवारीले यो रकम बराबरको खसी सहयोग गरेका हुन् । बिभिन्न संचार माध्यममा नेपाली सेनाको टोलीले हिउँ–पानी र झरी नभनी पाथीभरा पदमार्गको स्त्तरोन्नतीका लागि कार्य गरिरहेको समाचार प्रकाशित÷प्रसारित भएपछि तिवारीले यो सहयोग गरेका हुन् । नेपाल पत्रकार महासंघ ताप्लेजुङका जिल्ला सदस्य मदन गौतम मार्फत आएको १५ हजार रकम परिचालन गरी नेपाली सेनाको टोलीलाई एउटा खसी हस्तान्तरण गरेको हो । खसी पदमार्ग निमार्णमा खटिएको सेनाको टोलीले खान पाउने गरी शुक्रवार नयाँरणभीम गुल्मका गुल्मपति रवि केसीलाई दिईएको छ । पत्रकार महासंघ ताप्लेजुङ शाखाका अध्यक्ष राजेन्द्र श्रेष्ठ र समन्वयकर्ता महासंघ सदस्य गौतमले खसी गुल्मपति केसीलाई हस्तान्तरण गरेका छन् । केसीले शनिवारनै निर्माणमा खटिएको टोलीलाई दिईने बताउनुभयो । पाथीभराको सिजन सुरु भएको यो समयमा नेपाली सेनाले ६० बढी जनशक्ति परिचालन गरी पाथीभरा क्षेत्रको पदमार्ग निमार्णको कामलाई तिव्रता दिएको छ । सेनाले बनाउन लागेको करिव ४ सय मिटर पदमार्ग मध्ये कामको ठूलो हिस्सा सकिदै आएको गुल्मपति केसीले जानकारी दिए ।