काठमाडौं । नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालको लापरवाहीको कारण १८ वर्षीया नितु सुनारको ज्यान जोखिममा परेको छ । गर्भवती रहेको नितुलाई उनका परिवारले १७ गते भेरी अञ्चल अस्पतालमा भर्ना गरे ।
उनको अवस्था सामान्य नभएपछि २० गते डाक्टर हेमा छिन्तेलसहितको टोलीले अप्रेशन गरेर छोरा जन्माइन् । उनलाई २६ गतेसम्म अस्पतालमै राखियो र टाँका नकाटिकन ४ दिनपछि आउन भनेर डिस्चार्ज गरियो ।
तर सुनारको पेटमा थप समस्या आएपछि आफन्तले तुरुन्तै अस्पताल लगे र डाक्टरले टाँका काटिदियो । तर बिरामीको झन पेट दुख्ने र सुनिन्ने भयो । उनको अवस्था झन जटिल बन्दै गएपछि उनलाई माघ १ गतेबाट आईसीयुमा भर्ना गरियो तर अवस्था सुधार नआएपछि डाक्टरले उनलाई जतिसक्दो छिटो काठमाडौँ या लखनउ लैजान परिवारलाई लगाए ।
परिवारले अहिलेसम्म किन यस्तो भयो भन्दा हाम्रो गल्तीले यस्तो भएको भए उपचार खर्च व्यहोरर्छौं भन्ने अस्पतालको मौखिक जवाफ पाएपछि सुनारलाई लखनउस्थित सामरा अस्पतालमा लगेर उपचार भैरहेको छ । भेरी अस्पतालमा उनको अप्रेशन गर्दा दिसा नलि काटिएको रहेछ । उनको उपचारमा अहिलेसम्म ९ लाख बढि खर्च भैसकेको परिवारको भनाइ छ ।
यस बिषयमा उनका परिवारले जिल्ला प्रशासन कार्यालय बाँकेमा निवेदन दिएर र प्रशासनमा प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ, पिडितका परिवार र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विरेन्द्र बहादुर चन्दबीच खर्च दिने भन्ने बिषयमा सहमति भयो । तर उनीहरुले अहिलेसम्म कतैबाट उपचार खर्च पाउन सकेका छैनन् ।
परिवारले उपचारमा आर्थिक समस्या भएको भन्दै रकम माग्न जाँदा आलटाल गर्ने गरेको र रकम स्वास्थ्य मन्त्रालय अन्तर्गतको परिवार स्वास्थ्य महाशाखाले दिने भन्दै टार्ने गरेको परिवारको गुनासो छ । अस्पतालले आफूहरुले महाशाखामा पत्राचार गरिसकेको भन्ने गरेका छन् ।