रङ्गेली/ विराटनगर माहनगरपालिकाको मत गणना अतयन्तै सुस्त भएपछि निर्वाचन कार्यालयले काठमाण्डौबाट अनुभवी टोली आएका छन् । निर्वाचन आयोगबाट खटिएको उप सचिब बिषकसेन ढकालसहितको १० टोली सोमबार विराटनगर आइपुगेको क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी दिए ।

उपसचिबसहित शाखा अधिकृत राजेन्द्र पोखरेल, श्री कुमार राई, देवी पाण्डे, सुरज अर्याल, महेश श्रेष्ठलगयातको टोली विराटनगरको निर्वाचन कार्यालयले जनाएको छ । विराटनगरको मत गणना भएको पाँचौ दिन भइसक्दा पनि सुस्त गतिमा गणना हुन थालेपछि काठमाण्डौबाट अनुभवी कर्मचारी ल्याएको बताइएको छ । प्रमुख सञ्जेलले भने,‘पहिलो चरणको निर्वाचनमा मत गणना गरेको कर्मचारी आएको हुनाले अब गणनामा फड्को मार्छ ।’

निर्वाचन कार्यालयले यस अघि स्थानिय स्थरकै कर्मचारी मत गणना गर्न आह्वन गर्दा कर्मचारी नपाएपछि काठमाण्डौबाट अनुभवी टोली मगाएको हो । महानगरपालिकाका १९ मध्ये हाल ७ वटा वडाको मतगणना भइरहेको छ । गणना सुरु भएको पाँचौ दिनमा १ नम्बर वडाको गणना सकिएको छ । अन्य वडामा ५० प्रतिशत हाराहारीमा मात्र मत गनिएको छ ।

कर्मचारीको अभावकै कारण गणनालाई तीब्रता दिन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । विराटनगरको वडा नं. १६ को गणना कर्मचारी अपुग भएकाले शनिबार रोकिएको थियो । मुख्य निर्वाचन अधिकृत विनोद पोखरेलका अनुसार प्रत्येक मतगणनास्थलमा ८ घण्टाको एक सिफ्टमा ६ कर्मचारी खटाइएको छ । विराटनगरमा ८० हजार ७ सय ४४ मत खसेको छ । जसमध्ये सोमबारसम्ममा करिब १७ हजार मत मात्र गणना भएको छ ।