इटहरी/ इटहरी–६ पश्चिमलाईनस्थित गोमा शर्मा रिजालको घरमा सञ्चालित दुई पसलमा बिहीबार राती आगलागी भएको छ । आगलागीबाट सो घरमा सञ्चालित बालाजी मार्वल एण्ड सेनीटरी र विराट आयुर्वेदिक पसलमा विहीबार राती १ बजेको समयमा आगलागी भएको हो ।

आगलागीबाट झण्डै ७ करोड रुपैयाँको क्षति भएको पिडितको भनाई छ । प्रहरीले भने क्षतिको एकिन विवरण आइ नसकेको जनाएको छ । पिडिया सोनी अग्रवालको नाममा रहेको बालाजी मार्वल एण्ड सेनेटरीमा भएको आगलागीमा ६ करोड रुपैयाँको क्षति भएको सञ्चालक हितेन्द्रकुमार अग्रवालले बताए ।

विराट आयुर्वेदिक पसलमा ६० लाख रुपैयाँको नष्टभएको जनाइएको छ । त्यो बाहेक घरमा पनि क्षति भएको छ । प्रहरीले दिएको जानकारी अनुसार बिहीबार १ एक बजेको समयमा आगलागी भएको हो । झण्डै तीन घण्टा पछि बिहान आगालागी नियन्त्रणमा आएको थियो ।

आगलागी नियन्त्रणमा लिन इटहरी, धरान, इनरूवा र विराटनगरबाट दमकल आएका थिए । आगलागी भएको स्थान नजिक राधाकृष्ण पेट्रोल पम्प समेत सञ्चालनमा छ । चाँडै आगो नियन्त्रणमा लिएको कारण थप क्षति हुन पाएन । आगलागी नियन्त्रणमा लिन नेपाल प्रहरी, शसत्र प्रहरी एवं सर्वसाधारणहरूले साथ दिएका थिए ।