इटहरी / इटहरी उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको पहिलो वोर्ड बैठकले इटहरीका विभिन्न वार्डमा हरेक महिना सफाई अभियान चलाउनुका साथै हेलो मेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुको आइतबार सम्पन्न पहिलो बैठकले नगरवासीको गुनासो सुन्न हेल्लो मेयर कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो । आइतबारदेखि नव निर्वाचित मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम सहित सम्पूर्ण वार्डका अध्यक्षहरुले काम शूरु गरेका छन् ।
नगरको प्रवक्ता तोकिएकी उपमेयर लक्ष्मी गौतमले बैठकको निर्णयबारे जानकारी दिदै इटहरीमा एक महिना भित्र घुम्ती शौचालय सञ्चालन गर्ने, बढी यात्रु आवागमन हुने र पर्यटक आवगमन हुने स्थानमा फ्रि वाईफाई जोन बनाउने पनि निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिइन् । मेयरको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता घरघरमा पुयाउने निर्णय भएको गौतमले जानकारी दिइन् ।
यसै गरी नगर क्षेत्रमा सञ्चालित प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी र नगरपालिकाबाट सञ्चालित स्वास्थ्य क्लिनिक बाट निःशुल्क औषधी वितरण गर्ने र नेपाल सरकारले स्वास्थ्य संस्था मार्फत प्रदान गर्दै आएको सुत्केरी भत्तामा केही रकम थप गर्न बजेट विनियोजन गर्ने पनि निर्णय गरेको छ ।
उपमहानगरपालिका गुनासो सुन्न गुनासो पेटीका राख्ने र टोल फ्रि नम्वरको व्यवस्थापन गर्ने निर्णय गरेको छ । असाय, अपाङ्ग हिंसामा परेका महिला, ज्येष्ठ नागरिक, बालबालिकाको लागि कार्यलय भित्र सहायता कक्ष स्थापना गर्ने समेत निर्णय भएको प्रवक्ता गौतमले जानकारी दिइन् ।