धरान/आफूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) भन्दै जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुङ्गेललाई फोन गर्ने एकजना व्यक्तिलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

नक्कली प्रहरी नायब महानिरीक्षक बनेर ढुङ्गेललाई फोन गर्ने रामेछापको खाँडादेवी गाउँपालिका–२ का ५२ वर्षीय मानबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको हो । उनले  सार्वजनिक अपराधको अभियोगमा पक्राउ परेका एक व्यक्तिलाई  छाड्न प्रहरी नायब उपरीक्षक ढुङ्गेललाई फोन गर्दैआएका थिए ।

 उमाकुण्ड गाउँपालिका–२ का दावा सोनाम शेर्पालाई सार्वजनिक अपराध मुद्दाअन्तर्गत गत असार ४ गते प्रहरीले पक्राउ गरेको थियो । शेर्पालाई छाड्न केसीले प्रहरी प्रमुख  ढुङ्गेललाई लगातार फोन गरेर दबाब दिँदैआएका थिए । “म प्रहरी नायब महानिरीक्षक सुदीप आचार्य हुँ भन्दै लगातार फोन गर्न थाले,” ढुङ्गेलले भने  । अनुसन्धानका क्रममा केसी नक्कली डिआइजी बनेर फोन गर्ने गरेको  भेट्टिएपछि केसीलाई पक्राउ गरिएको उनले बताए ।  रासस