इटहरी/ मोरङको सुन्दर हरैचा नगरपालिका– ५ स्थित फोकल्याण्ड टापुका बालबालिका र अन्यमा पनि ज्वरोको भाइरल फैलिएको समाचार प्रकाशन भए पछि मंगलबार स्वास्थ्य टोली सो वस्तीमा पुगेका छन् ।
सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख रमेश गौतमका अनुसार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नावेल मेडिकल कलेज विराटनगर, जिल्ला स्वास्थ्य कर्यालय मोरङ, विस्व स्वास्थ्य संगठनको टोली औषधी सहित वस्तीमा पुगेको छ ।
सरसफाईको कमीले भाइरल ज्वरो फैलिएको आशंकका गरिएको छ । ‘भाइरलको ठूलो खतरा भने देखिएको छैन’ सुन्दरपुर स्वास्थ्य चौकीका प्रमुख गौतमले भने ‘सबैको चेक जाँच हुँदैछ र सचेतना कार्यक्रम पनि सञ्चालन भइरहेको छ ।’ सोमबार जाँच गरिएका ६६ जना विरामी र अन्य वस्तीवासीको पनि स्वास्थ्य परिक्षण गरिएको उनले बताए ।
मंगलबार साँसद चन्द्र गुरुङ, सुन्दर हरैचा नगरपालिकाका प्रमुख शीव ढकाल, जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख चन्द्रदेव मेहेतालगायतको टोलीले स्थानीयवासीसँग रोगको समस्याका बारेमा जानकारी लिएको थियो । साथै नोवेल र वी पी प्रतिष्ठानका चिकित्सकले स्वास्थ्य चाँच गरेको पनि उनले बताए ।
सो सम्वन्धी समाचार ब्लाष्ट टाइम्स दैनिकमा प्रकाशन भएको थियो । सो वस्तीमा ज्वरोकै कारण गत असार २९ गते दिलबहादुर राईका १४ बर्षका छोरा विजय राई र निर्मला तामाङकी ५ वर्षीया छोरी सुस्मिता तामाङ्गको मृत्यु भएको थियो । ज्वरोका कारण बालबालिका बढी प्रभावित छन् ।
इटहरी उपमहानगरपालिका ३ का वार्ड अध्यक्ष बालकृष्ण विष्टले पिछडिएको वस्ती रहेको र स्वास्थ्यको पहुँच नभएको कारण सो वस्तीका बासिन्दा पिडित हुँदै आएको बताए । उनका अनुसार त्यहाका वासिन्दा दैनिक मजदुरी गरेर जिविको पार्जन गर्दै आएका छन् । इटहरी–३ सँगै जोडिएको मोरङको फोकल्याण्ड टापुमा जान इटहरी ३ बाटै जानु पर्ने हुन्छ ।