इटहरी/ धरान इटहरी सडक खण्ड अन्तरगत इटहरीको हलगडामा शनिबार अपरान्ह बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार दुर्घटनामा उर्लाबारी ४ का अन्दाजी २६ वर्षीय मनोज विकको मृत्यु भएको हो । धरानबाट काकरभिट्टा तर्फ जाँदै गरेको को १ ख ३६२३ नम्वरको बस अनियन्त्रीत भई साडे ५ बजेतिर पल्टीएको प्रहरीले जनाएको छ । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयका अनुसार घटनामा सुनसरी मधेली २ की २४ वर्षीया अनिता शाह, इटहरी ५ का १५ वर्षीय सुजित तामाङ, इलाम ८ का ६५ वर्षीय रुद्र सेन्तेङ, मोरङ विराटचौकी २५ वर्षीय समिक्षा बुढाथोकी र रुकुम ४ का १६ वर्षीय कृष्ण पुन घाइते भएका छन् ।

घाइते मध्ये पुनको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अन्यको इटहरी स्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरीको सम्पर्कमा आएको बताइएको छ । मोटरसाइकललाई जोगाउने क्रममा बस अनियन्त्रीत भई सडक भन्दा तल खसेको प्रहरीले जनाएको छ । पानी जमेको ठाउँमा बस खसेको कारण उघारमा कठिनाई भएको थियो ।