काठमाण्डौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करिब दुई सय जना राष्ट्रसेवकलाई उच्च निगरानीमा राखेको छ । राष्ट्रसेवक पदाधिकारीले कानुनतः सम्पत्तिको स्रोत आफैंले पुष्टि गर्नुपर्ने व्यवस्था गरे पनि अकुत सम्पत्ति पत्ता लगाउन असफल रहेको भन्दै आलोचना भइरहेका बेला अख्तियारले राष्ट्रसेवकलाई निगरानीमा राखेको हो । अकुत सम्पत्ति आर्जनमा अख्तियारले गोप्य रुपमा उनीहरूका गतिविधि पछाइरहेको छ । अख्तियार उच्च स्रोतका अनुसार पूर्वमन्त्री, पूर्वसचिव, सहसचिव, प्रहरी, सार्वजनिक पदाधिकारी, संस्थान प्रमुखसहित सबै क्षेत्रका उच्चपदस्थ निगरानीमा छन् । उनिहरुमाथि गोप्य तवरले छानबिन चलिरहेको स्रोतले बतायो । अख्तियारमा पेस भएको सम्पत्ति विवरण र उजुरीका आधारमा उनीहरूलाई निगरानीमा राखिएको हो । स्रोतका अनुसार दुई सय जना निगरानीमा रहे पनि ४० जनाउपर भने छानबिन तीव्र पारिएको छ । अख्तियारले सार्वजनिक पदधारण गरेका पदाधिकारीले लुकाएको सम्पत्तिको स्रोत, सम्पत्तिको अवस्था, तिनका आफन्त र सम्भावित ठाउँको सुराक पत्ता लगाउन गुप्त ढंगले कर्मचारी परिचालन गरेको वुझिएको छ ।