काठमाण्डौ । मन्त्री राख्न सरकारी आवास अपुग भएपछि नियुत्ति भएका मध्ये एक मन्त्री आफ्नै विद्यालयमा बस्दै आएको पाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्का मन्त्री राख्न सरकारी निवास अपुग भएपछि एक राज्यमन्त्री हातहतियारसहितको सुरक्षा गस्तीसहित विद्यालय हातामा बस्ने व्यवस्था मिलाइएको हो । युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल (टीएल) चौधरी ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित नाइटिंगेल स्कुलभित्र सुरक्षा पोस्टसहित बसेका छन् । शान्ति क्षेत्र मानिएको विद्यालय हाताभित्र राज्यमन्त्री चौधरी १२ दिनदेखि नेपाली सेनाको सुरक्षा पोस्टसहित बसिरहेका हुन । विद्यालय हाताभित्र हातहतियारसहित सुरक्षाकर्मी बस्न नपाउने, बन्द, हडताल या ¥यालीमा विद्यार्थी प्रयोग गर्न नपाइनेलगायत नीति छ । तर मन्त्री चौधरी भने डेरा नपाएको भन्दै आफ्नै विद्यालयमा बस्दै आएका छन् । राज्यमन्त्रीको शपथग्रहणलगत्तै सरकारले उपलब्ध गराएको सुरक्षा टोलीसहित उनी विद्यालयको ‘सी’ ब्लकको माथिल्लो तल्लामा बस्दै आएका छन् । उनको सुरक्षाका लागि सरकारले उपलब्ध गराएको हातहतियारसहितको नेपाली सेनाको सुरक्षाकर्मी (सेन्ट्री) सो स्कुल हाताभित्र बस्ने गरेको छ । सरकारले उनलाई उपलब्ध गराएको सवारीसाधन पनि विद्यालय हातामै राखिएको छ । राज्यमन्त्री बनेपछि पनि उनी अहिलेसम्म आफ्नै घर र स्वामित्वमा रहेको २५ वर्ष पुरानो नाइटिंगेल स्कुलमा बस्दै आएका छन् । राज्यमन्त्री चौधरी बसेको भवनमुनिका तलामा ४, ५ र ६ कक्षाका ५ सय विद्यार्थी अध्यनरत छन् । सप्तरीका चौधरीले २०४९ सालदेखि कुपण्डोलमा नाइटिंगेल स्कुल चलाउँदै आएको राज्यमन्त्री चौधरीका सहयोगी ध्रुव तण्डुकारले बताए । राज्यमन्त्री नहुँदै नाइटिंगेल स्कुल तथा कलेजका संस्थापक प्रिन्सिपल छँदादेखि उनी सोही घरमा बस्दै आएको कुपण्डोलका स्थानीय बताउँछन्।