काठमाडौं/अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पूर्वराष्ट्रपति बाराक ओबामाको फैसला उल्टाउँदै बाल्यकालमै अमेरिका आएका अवैध आप्रवासीलाई अस्थायी राहत दिने कार्यक्रम रद्द गरेका छन् ।

डेफर्ड एक्सन फर चाइल्डहूड अराइभल (डीएसीए) कार्यक्रमलाई खारेज गरिएपछि करीब आठ लाख युवा आप्रवासी अमेरिकाबाट निकालिने भएका छन् । केही संख्यामा नेपालीहरूलाई पनि यसले समस्या ल्याउने देखिएको छ । छिमेकी मुलुक भारतका चाहिँ सात हजार व्यक्ति यसबाट प्रभावित भएका छन् ।

ट्रम्पको यो निर्णयको विरोध पनि हुन थालेको छ । ह्वाइट हाउसबाहिर सयौं मानिसले विरोध प्रदर्शन गरेका छन् । डीएसीए कार्यक्रम सन् २०१२ मा ओबामा प्रशासनले लागू गरेको थियो । यसलाई रद्द गर्ने घोषणा गर्दै अमेरिकाका महान्यायाधिवक्ता जेफ सेसन्सले भने, ‘डीएसीए असंवैधानिक थियो । यसका कारण हजारौं अमेरिकीहरूको रोजगारी खोसेर अवैध आप्रवासीलाई दिइयो । आफूलाई मन लागेको बेलामा अमेरिका घुस्ने जोकोहीलाई पनि हामीले यहाँ राख्नुपर्छ भन्ने केही छैन ।’

यो निर्णयको असर तत्काल देखिने छैन । शुरुमा यस्ता व्यक्तिहरूको सुविधा खोसिनेछ । पछि उनीहरूको वर्क परमिटको मिति गुज्रिएपछि नवीकरण गरिनेछैन । अनि पछि चाहिँ उनीहरूलाई देशबाटै निकालिनेछ ।

एजेन्सी