धरान/नेपाल प्रहरीको डीआईजीबाट राजीनामा दिएका नवराज सिलवालले राजनीति सुरु गरेका छन् । उनी शुक्रबार नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
कार्यक्रममा सिलवालले माक्र्सवादी नेता लेनिनको भनाइ उद्धृत गरेका थिए । "तपाईंले राजनीतिलाई हस्तक्षेप गर्नुभएन भने तपाईंलाई राजनीतिले हस्तक्षेप गर्छ," उनले भने ।
आफूमाथि ठूलो राजनीति भएको गुनासो गर्दै उनले राजनीति नभएको भए आफू सायदै राजनीतिमा आउने बताए । "मेरो फोरम फेरिएको हो, राष्ट्रप्रतिको समर्पण फेरिएको छैन। राज्य अभिभावक हो, तर ममाथि भेदभाव हो। लाखौं पीडितको प्रतिनिधि हुँ म । किन अदालत गइस् कतिले, अन्याय भएपछि कहाँ जाने ?" उनले भने ।
एमालेले मात्रै समृद्धिको अगुवाइ गर्न सक्ने दाबी गर्दै सिलवालले केपी ओली युग पुरुष भएको टिप्पणी गरे । पार्टीले दिएको जुनसुकै जिम्मेवारी निर्वाह गर्ने उनले बताए ।
यसअघि उनले दशैंको टीका पनि एमाले अध्यक्ष ओलीको हातबाट लगाएका थिए । नेपाल प्रहरीको महानिरीक्षकको दौडमा रहेका सिलवाललाई कार्यसम्पादन मूल्यांकन फाइल कीर्ते गरेको आरोप लागेको छ ।
आफू प्रहरी महानिरीक्षक हुन पाउनुपर्ने जिकीर गर्दै सर्वोच्चमा दिएको निवेदन पनि आफ्नो पक्षमा फैसला नभएपछि उनले डीआईजीबाट राजीनामा दिएका थिए । तर उनको राजीनामा अहिलेसम्म स्वीकृत नभएको प्रहरी स्रोतले जानकारी दिएको छ ।बाह्खरीबाट