भद्रपुर/ सामाजिक स्वास्थ्य सुरक्षा (स्वास्थ्य बीमा) कार्यक्रम झापामा पनि दर्ता सुरु भएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति झापाले वुधवार भद्रपुरमा एक कार्यक्रमको आयोजना गरि दर्ता शुभारम्भ गरेको हो । कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख जीवन कुमार श्रेष्ठले पहिलो दर्ता गराएका थिए । श्रेष्ठले दर्ता गरेको प्रमाण पत्रलाइ जिल्ला समन्वय समिति झापाकी उपप्रमुख मीना पराजुलीले प्रदान गरेकी थिइन भने उपप्रमुख पराजुलीले गरेको दोस्रो दर्तालाइ जिल्ला जनस्वास्थ्य कार्यालयका बरीष्ठ जनस्वास्थ्य प्रशासक मधुसुधन कोइरालाले हस्तान्तरण गरेका थिए ।

सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति झापाका प्रवन्धक रमेन्द्र प्रसाद कुश्वाहाको सभापतित्व तथा जिल्ला समन्वय समितिका उपप्रमुख पराजुलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेची अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्ड पिताम्बर ठाकुर,स्थानीय विकास अधिकारी खेमराज ओझा,जनस्वास्थ्य कार्यालयका बरीष्ठ जनस्वास्थ्य प्रशासक कोइराला लगायतले बोलेका थिए । नेपाल सरकारले ०७२ चैत्र २५ गते देखि कैलाली जिल्लावाट कार्यक्रमको सुरुवात गरि हालसम्म १९ जिल्लामा सञ्चालन भइरहेको र ०७४ असोज २५ वाट सोलुखुम्बु, सुनसरी र झापामा दर्ता सुरु गरिएको सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति झापाका प्रवन्धक कुश्वाहाले बताए । कार्यक्रलाइ ०७४।७५ मा ३९ जिल्लामा पुर्याउने योजाना अनुरुप समितिले कार्य गरिरहेको कुश्वाहाको भनाइ छ ।

झापामा प्रथम बिन्दु अन्तरगत वनियानी,धुलावारी,शनिश्चरे,सुरुङगा,शिवगञ्ज,खजुरगाछी प्राथमिक स्वास्थ्य केन्द्र,मेची अञ्चल अस्पताल भद्रपुर,मेची आँखा अस्पताल विर्तामोड र आम्दा अस्पताल दमक गरि नौ वटा सेवा प्रदायक स्वास्थ्य संस्थाहरु रहेको उनले जनाए ।त्यसैगरि वि.पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,नोवेल मेडिकल कलेज विराटनगर,कोशी अञ्चल अस्पताल विराटनगर, काठमाडौंका कान्ति वाल अस्पताल,राष्ट्रिय ट्रमा सेन्टर,सहिद गंगालाल हृदय केन्द्र,शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पताल,परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल,वीर अस्पाताल रेफरल सेन्टरहरु रहेका जनाएका छन् ।

अन्य जिल्लामा पाटन मानसिक अस्पताल ललितपुर,मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर,क्यान्सर अस्पताल चितवन र पाटन अस्पताल ललितपुर समेत रेफरल सेन्टर रहेको जनाइएको छ ।

झापामा १ सय ९२ जना दर्ता सहयोगीले गाँउ गाँउमा परिचालित भई बीमा गराउने छन् । पाँचजनाको २५ सय र भन्दा माथि भएमा प्रति व्यत्ति ४५० शुल्क लाग्ने बताइएको छ ।