भद्रपुर । झापामा डेंगू रोगको संक्रमण महामारीको रुपमा फैलिरहेता पनि यसको रोकथामको लागि कुनै निकायले चासो देखाएको पाइदैन । सन् २०१२मा झापाको पुर्वी क्षेत्र काकडभिट्टामा पहिलोपटक देखा परेको रोग पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा फैलिनेक्रम बढेर गएपनि सरोकारवाला निकायको वेवास्ताका कारण रोग नियन्त्रण हुन सकेको छैन । विभिन्न स्वास्थ्य संस्थामा डेंगू रोगीको संख्या बढेपनि हालसम्म झण्डै ३ सय ४१ जना मानिसमा मात्र रोगको संक्रमण देखा परेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । गत असोज ६गते बिर्तामोड नगरपालिकामा देखा परेको डेंगू रोगको संक्रमण पछिल्लो समय अर्जुनधारा, दमक, मेचीनगर, कनकाइ, सुरुङ्गा, काँकरभिट्टा ,वुद्धशान्ति गाउँपालिका लगायतका स्थानमा डेंगू रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका महामारी फोकल पर्सन कूलबहादुर पौडेलले जानकारी दिए । बिर्तासटी हस्पिटलमा स्वास्थ्य परीक्षणका लागि गत असोज ६ गते आएका एक व्यक्तिमा पहिलो पटक रोगको संक्रमण देखापरेको पौडेलको भनाइ छ । पौडेलका अनुसार हालसम्म विर्तामोडमा मात्र झण्डै ३ सय रोगी रहेका छन् भने दमक, मेचीनगर, अर्जुनधारा, कनकाइ ,बुद्धशान्ति र अन्य ४१ जना गरि उक्त संख्यामा डेंगू रोगको संक्रमण देखापरेको बताए । झापामा डेंगूको संक्रमण देखापरेपछि कसैलाई यो रोगको परीक्षण गर्नु परेमा सरकारी स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गर्न सकिने पौडेलले बताए । उनका अनुसार आम्दा अस्पताल दमक , प्राथमिक स्वास्थ केन्द्र सुरुङ्गा, बिर्तामोड हेल्थपोष्ट, धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र ,काँकरभिट्टा हेल्थपोष्टमा डेंगूको संक्रमणको जाँच गराउन सकिने छ । केहि हप्ता अघि विर्तामोडका पत्रकार विरु दर्नाललाइ डेंगू रोग देखापरेपछि भारतको नर्थ बगांलमा उपचार गराइ घर फर्किएका छन् भने रोगका कारण पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी पनि हाल सोहि अस्पतालमा उपचार गराइरहेको पाइएको छ । तर जनस्वास्थ्यले भने यसवारे जानकारी नभएको जनाएको छ । झापमा डेंगूको संक्रमणको परीक्षणका लागि पर्याप्त किट समेत रहेकाले समयमा उपचार गराउन चिकित्सकहरुले आग्रह गरेका छन् । भाइरल फिवरका रुपमा चिनिने डेंगू संक्रमण फैलन थालेपछि स्थानीयमा त्रास बढ्नुका साथै अस्पतालमा बिरामीको चाप पनि बढेको छ । मानिसमा एक लाख सेतो रक्तकोशिका हुनुपर्ने भन्दै डेंगू रोग लागेमा रक्तकोशिका अर्थात् प्लेटलेटको कमीले गर्दा मानिसको ज्याननै जानसक्ने चिकित्सकको भनाइ छ । एडिस नामक पोथी लामखुट्टेको टोकाईले यो रोगको संक्रमण फैलने र दिउँसोको समयमा उक्त लामखुट्टे सक्रिय हुने बताइएको छ । डेंगू रोगलाई हाउगुजीका रुपमा नलिन आग्रह गर्दै यो एक किसिमको भाइरल रोग भएको चिकित्सकहरुले बताएका छन् । नियमित रुपमा शारीरिक ब्यायम र खानपिनमा ध्यान दिने हो भने सहजरुपमा डेंगू रोगबाट बच्न सकिने चिकित्सको भनाइ छ । डेंगू रोग नेपालमा पहिलोपटक सन् २००४मा देखा परेको थियो । त्यस पश्चात २००६ मा चितवन र रुपन्देहीका भित्रिमधेशमा यसको महामारीनै फैलिएको पौडेलको भनाइ छ । सन् २०१२ मा पहिलो पटक काकडभिट्टामा ४ सय १२ जनामा डेंगू रोगको संक्रमण देखिएकोमा दुई जनाको मृत्यु भएको पौडेलले जनाए । त्यस पश्चात हालसम्म डेंगू रोगका कारण झापामा कसैले ज्यान गुमाउनु नपरेको फोकल पर्सन पौडेलले जानकारी दिए । डेंगूको संक्रमण गतवर्ष झापाकै दमकमा पनि फैलिएको थियो । उक्त समयमा ४सय २१ जनामा डेंगू पोजेटिक फेला परेको र सबै उपचार पश्चात निको भएको पौडेलको भनाइ छ । पछिल्लो समय रोगका कारण बिर्तामोड नगरपालिका–४ बिर्ताबजारका ४० बर्षीय उमेश साहको दुइ दिन अघि ज्यान गएको भएतापनि यसको आधिकारिक पुष्टि नभएको बिर्ता हेल्थ क्लिनिकका सञ्चालक ब्रजेशकुमार मेहताले जानकारी दिए । स्वास्थ्य जाँचका लागि बिर्ता हेल्थ क्लिनिक आएपनि सामन्य ग्याष्ट्रिकको औषधि दिएर रेफर गरिएकोले मृत्युको कारण खुल्ननसकेको उनको भनाइ छ । त्यसैगरि रोगका कारण अर्जुनधारा ७ की ३५ वर्षिया सुनिता अधिकारी बरालको गएराती ज्यान गएको पौडेलले जनाएका छन् । उपचारका लागि विर्तासिटी ल्याइएकी बराललाइ डेंगू रोग देखिएपछि थप उपचारको लागि नोवेल अस्पताल विराटनगर भर्ना भएको केहिवेरमा मृत्यु भएको देउरानी रिता बरालले बताइन् । जेठानी दिदीको डेंगूकै कारण मृत्यु भएको रिताको भनाइ छ । बिर्तामोडमा केन्द्र बनाएर माहामारी फैलिएपछि मंगलवारवाट जनस्वास्थ्यको अगुवाइमा विर्तामोड नगरपालिकाका क्षेत्रका १० वटै वडाका अध्यक्ष, टोल सुधार समिति,स्वास्थ्य स्वयमसेविका लगायतले घर–घरमा गइ जनचेतना जगाउने अभियान सुर गरिएको पौडेलले बताए । सडक किनारमा राखिएका टायर, गमला, फ्रिज,खाल्डा खुल्डीमा पानी जमेका ठाउँमा लार्भा बसेका कारण रोग महामारीको रुपमा फैलन सक्ने भएकाले काम शुरु गरिएको उनले जानकारी दिए । स्थानीय तहका जनप्रतिनिधि र जिल्ला जनस्वास्थ्य कार्यालयले प्रभावकारी रुपमा काम नगरि कानमा तेल हालेर बसेका कारण रोग देखा परेका क्षेत्र लगायत आसपासका जनतामा ठुलो त्रास फैलिएको स्थानीयले गुनासो गरेका छन् ।