काठमाडौं/ राष्ट्रियसभा अध्यादेश प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध विद्यार्थीले आन्दोलन गर्ने भएका छन् । कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपतिविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।
’राष्ट्रपतिको असंवैधानिक अडान’ रहेको भन्दै राजधानीको प्रदर्शनीमार्गमा नेविसंघले शनिबार प्रदर्शन गर्न लागेको संघका महामन्त्री कुन्दनराज काफ्लेले बताए । बिहान ९ बजे प्रदर्शनी मार्गमा कार्यक्रम राखिएको उनको भनाई छ ।
एमाले र माओवादी केन्द्रको दबाबमा राष्ट्रपतिले सरकारले पेस गरेको अध्यादेश रोक्नु असंवैधानिक भएको आरोप कांग्रेसले लगाएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार माधव शर्माले अध्यादेशका बारेमा राष्ट्रपतिले परामर्श गरिरहेको बताए ।
अध्यादेश पारित गर्ने विषयमा सहमति जुटाउन शुक्रबार वाम गठबन्धन, मधेसकेन्द्रित र कांग्रेसका शीर्ष नेताहरुबीच बैठक भएको थियो । तर, सो बैठकबाट ठोस निष्कर्ष भने ननस्किेको बताइएको छ ।