वीरगंज / नेशनल मेडिकल कलेज, वीरगञ्जबाट हराएकी सुत्केरी महिला बाराको जिल्ला अस्पतालमा फेला परेकी छिन् । सर्लाही कवालावासी घर भएकी २० वर्षिय ललिता देवी बुधबार बेलुका अस्पतालबाट हराएकी थिइन् ।
उनलाई शुक्रबार जिल्ला अस्पताल कलैयामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी राजन लिम्बुले बताए । ललिताले छोरी जन्माएकी थिइन् । छोरी जन्माएकै कारण आफूमाथि परिवारबाट अपहेलना हुन भयले उनी भागेको आशंका गरिएको छ ।
बुधबार राती ११ बजे उनी अस्पतालबाट हराएकी थिइन् । उनी हराएपछि परिवारले खोजी गर्न प्रहरीमा उजुरी गरेका थिए । शुक्रबार उनलाई फेला पारी प्रहरीले परिवारलाई बुझाएको छ। ‘भाग्नुको कारणबारे अनुसन्धान गरिरहेका छौं,’ डिएसपी लिम्बुले स्वास्थ्यखबरसँग भने । ललितादेवी गत २ गते सुत्केरी भएकी थिइन् ।
स्वास्थ्यखबरबाट