मोरङ/ मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा लामो समयदेखि क्रियाशिल ६० वर्ष उमेर नाघेका ४ जना महिला स्वास्थ्य स्वयमसेविकालाई शनिवार नगरपालिका कार्यालयले दीर्घकालिन सेवा सम्मान गर्दै विदाई गरेको छ ।
महिला स्वास्थ्य स्वयमसेविका दिवशको अवसर पारेर स्थानीय वाँसेचौरीमा वनभोज सहितको कार्यक्रमकाबीच सम्मानित हुनेमा, वडा नम्बर की चन्द्रकुमार कन्दङ्वा, ३ की कृष्णकुमारी थापामगर, ४ की अञ्जला विश्वकर्मा र राधिकादेवी भट्टराई छन् ।
उनीहरुलाई जनही ६५ हजार नगद, दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । नेपाल सरकारले जनही १० हजार उपलब्ध गराएकोमा नगरपालिकाले ५० हजार र महिला स्वास्थ्य स्वयमसेविका कोषबाट ५ हजार गरी जनही ६५ हजार वराबरको रकम जम्मा गरी सम्मानित गरिएको छ । ०४७ सालदेखि उनीहरुले सेवा पुर्याउँदै वाल जन्मदर र वालमृत्यु दर घटाउने अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए ।
कार्यक्रममा, नगरप्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य निरीक्षक एवम् नगर स्वास्थ्य संयोजक प्रमुख मुरारी आचार्य सहितले सम्मानित गर्दै महिला स्वास्थ्य स्वयमसेविका लागि यसखाले अवकासमा सम्मानको परम्पराको थालनी गरेको र यसलाई निरन्तर दिइ व्यवस्थित गर्दै लाने पनि जनाए ।
सो अवसरमा, ४ नम्बर वडाध्यक्ष गोविन्द भण्डारी, अनमि राधा नेपाल, महिला स्वास्थ्य स्वयमसेविका सरस्वती चौधरी, रेणुका काफ्लेले महिला स्वास्थ्य स्वयमसेविकालाई आर्थिक रुपमा थप व्यवस्थित बनाउनु पर्ने जनाउँदै कार्यक्रमको प्रशंसा गरेका छन् । स्वास्थ्य कार्यकता निर्मला विकले स्वास्थ्य सन्देशको गीत प्रस्तुत गरिन् । कार्यक्रममा नाचगान सहितको सांस्कृतिक प्रस्तुतिको रमाइलो वातावरण थियो ।