बेलबारी / तमु ह्यूल छोज धिं गुरुङ राष्ट्रिय परिषदको केन्द्रीय अध्यक्ष रेशम गुरुङले प्रदेश नम्बर ४ लाई तमुवान राज्य घोषणा गर्न माग गरेका छन् ।
शनिबार मोरङको बेलबारीमा भएको तमु ह्यूल छाेंज धीं गुरुङ राष्ट्रिय परिषदको १ नम्वर प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले तमुवान राज्य घोषणाको माग गरेका हुन् ।
प्रदेशको नामाकरण पहिचानको आधारमा हुनुपर्ने तर्क राख्दै गुरुङले सो माग गरेका हुन् । प्रदेश नं. ४ गुरुङहरुको ऐतिहाँसिक भूमि भएकाले सो क्षेत्रलाई तमुवान प्रदेश बनाउनु पर्नेमा उनले जोड दिए । त्यसैगरी भाषिक अधिकारको सवालमा बोल्दै गुरुङले अहिलेसम्म आफूहरूलाई भाषामा समेत सरकारले पक्षपात गरेको आरोप उनले लगाएका छन् ।
कामकाजको भाषाका रूपमा जुनसुकै प्रदेशमा पनि खस भाषा राखेकाले आदिवासीको पहिचान मेट्न सरकार नै लागिपरेको उनले बताए । प्रदेश नम्बर ४ मा गुरुङको बाहुल्य रहेको बताउँदै उनले संविधानले व्यवस्था गरेअनुरुप सबै जातजाति, भाषा, धर्म र संस्कृतिको सम्मान हुनुपर्नेमा जोड दिए । प्रदेशमा बढी बोलिने भाषालाई सरकारी कामकाजको भाषाको मान्यता दिए सबैको हित हुने उनको तर्क छ ।
प्रदेशसभालाई प्रदेशको नामांकन गर्ने जिम्मा दिइएकाले अबका आदिवासीका मुद्दामा प्रदेश सांसदको भुमिका भएको भन्दै अध्यक्ष गुरुङले आदिवासीको मुद्दालाई ओझेलमा पार्ने खेलमा नलाग्नसमेत उनले प्रदेश सांसदलाई खबरदारी गरे ।
एक सय ६ वर्षिय सहित विभिन्न व्यक्तित्वलाई सम्मान
सोही कार्यक्रमको अवशरमा एक सय ६ वर्षिय रणमाया गुरुङ र वयोवृद्ध ठकबहादुर गुरुङ सम्मानित भएका छन् । कार्यक्रमका प्रमुख अतिथि गुरुङले दोसल्ला ओढाएर उनलाई सम्मान गरेको हो । वृद्ध सहित विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने तमुहरुलाई पनि सम्मान गरिएको थियो । तमु अभियन्ताको रुपमा बेलबारीका समाजसेवी रविन गुरुङलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी तमु अभियन्ताकै रुपमा रुद्रबहादुर गुरुङ , प्रथम महिला राष्ट्रिय खेलाडी टिम क्याप्टेन गंगा गुरुङ, महिला फुटवल प्रशिक्षक जमुना गुरुङलाई सम्मान गरिएको थियो ।
अधिवेशनमा एक नम्वर प्रदेशको मोरङ,सुनसरी,झापा,संखुवासभा,धनकुटा,तेह्रथुम,पाँचथर,ताप्लेजुङ,इृलामबाट पर्यवेक्षक तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रम शुरु हुनुअघि बेलबारीचोक देखि कार्यक्रमसभा स्थल सम्म ¥यालीको आयोजना गरिएको थियो ।
कार्यक्रमको पूर्वसन्ध्यामा बेलबारीमा सरसफाईको आयोजना समेत गरिएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषदका केन्द्रिय उपाध्यक्ष श्याम नारायण मण्डल विशेष अतिथि रहेका थिए । कार्यक्रममा विभिन्न राजनैतिकदलका प्रतिनिधि तथा जातिय संस्थाका प्रतिनिधिहरु अतिथिका रुपमा उपस्थित रहेका थिए । कार्यक्रम परिषदका १ नम्वर प्रदेश संयोजक लक्ष्मीप्रसाद गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।