तरहरा/ बुवाआमा नभएका अनाथ बालबालिकाहरु बस्दै आएको निःशाहय बालआश्रममा सहयोगी हात जुटेको छ । बालबालिका बस्दै आएको टिनको छानो भएको घर पुरानो भएर बस्न समस्या भएको थियो । पुरानो भएर चुहिने भएको घर भत्काएर नयाँ घर बनाउन इटहरीको बुल्स एलेभने क्लबले श्रमदान सँगै अन्य सहयोग कार्य थालनी गरेको छ ।

शनिबार अनाथ आश्रममा भेला भएका क्लबका युवाहरुले घर भत्काउन सहयोग गरे । जाडोमा बालबालिका लागि लगाउने कपडा सँगै केही थान कम्बल पनि वितरण गरिएको क्लबका अध्यक्ष पूर्ण राईले जानकारी दिए । बुल्स एलेभेन क्लब इटहरीमा साप्ताहिक रुपमा शहर सफाईमा जुट्दै आएको छ । अनाथ आश्रममा बालबालिका बस्ने घर भत्काउन समस्या भईरहेको जानकारी पाएपछि सहयोग गरेको अध्यक्ष राईले बताए । घर भत्काउने र भत्काए पछि दिइएको डिजाईनमा पुनः घर बनाउन सहयोग गर्ने राईको भनाई थियो ।

निःशाहय आश्रममा ३८ जना अनाथ बालबालिकाहरु बस्दै आएका छन् । आश्रमको घर भत्काएर नयाँ बनाउन समस्या भईरहेको अवस्थामा क्लबको बारेमा सुने पछि खबर गरेर बोलाएको अनाथ आश्रमकी सञ्चालिका गिता गौतमले जानकारी दिईन । आश्रममा बस्दै आएका स साना बालबालिकाहरुलाई जाडोमा समस्या भईरहेको सञ्चालिका गौतमले बताईन ।

खासै राम्रो आर्थिक स्रोत नभएको यो अनाथ आश्रम विभिन्न सहयोगी दाताको सहयोगबाटै सञ्चालन हुँदै आएको छ । झण्डै ३ दशक देखी सञ्चालन हुँदै आएको यो आश्रममा धेरै बालबालिकाहरुले आश्रय लिएका थिए । यहिँबाटै घेरैको विवाह भएर विभिन्न ठाउँमा पुगेका छन् ।