शनिश्चरे/मोरङको रतुवामाई नगरपालिकाका ज्येष्ठ दम्पत्तीले जिल्लाको उर्लाबारी ५ का दृष्टिविहीन दम्पत्तीलाई व्यवसायिक आर्यआर्जनका लागि ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएका छन् ।
रतुवामाई नगरपालिका ५ गोविन्दपुरका ७७ वर्षीय जागिरमान दुमी राई र उनकी श्रीमती ६९ वर्षीया सुवासी राईले आइतबार दृष्टिविहीन दम्पत्ती राजकुमार र इन्दिरा राईलाई घरमै पुगेर सो रकम प्रदान गरेका हुन् । दम्पत्तीले आफुहरुले तीर्थ घुम्ने रकम दृष्टिविहीन दम्पत्ती र तिनका सन्तानको सहयोगका लागि प्रदान गरेर तीर्थ घुमेको धार्मिक फल पाउने विश्वास व्यक्त गरे ।
सहयोगदाताकी वुहारी सपना राईले सञ्चारमाध्यमबाट दृष्टिविहीन दम्पत्तीको समाचार आफुहरुले सुनेर सहयोग गर्न आइपुगेको वताइन् । ‘मुढा बुन्न पैसाको समस्या परेको समाचार आएको कुरा सासुससुरालाई मैले सुनाएको थिएँ । यसबेला उहाँहरुले सहयोग गर्न जान्छौं भनेर भन्नु भएपछि मैले लिएर आएँ ।’ उनले भनिन् –‘ यो रकमबाट मुढा बुन्ने र आएको आम्दामीबाट वचत कोष खडा गर्नुभयो भनें राम्रो हुन्छ ।’
सहयोग प्राप्त गरेपछि खुसी व्यक्त गर्दै दृष्टिविहीन राजकुमारले सो रकममध्ये केहीले मुढा बुन्न लगानी गर्ने र केही रकम वचाएर कोष खडा गर्दै २ छोरीहरुका लागि वचाइदिने जनाए ।
सञ्चारमाध्यममा दृष्टिविहीन दम्पत्तीको कष्टकर अवस्थाका बारेमा समाचार सम्प्रेषण भएपछि सहयोग जुट्दै गएर घर निर्माण हुन पुगेको छ । ६ लाख रकम सहयोगबाट संकलन भएपछि त्यहाँ घर बनिएको र मुढा र कुचोको व्यवसाय गर्न सहिजो वनेको छ ।