शनिश्चरे/ देश संघीयतामा गएपछि स्थानीय निकायले स्थानीय सरकारको काम गर्ने क्रममा मोरङका स्वास्थ्य संस्थाहरुको हस्तान्तरणको काम सकिन लागेको छ ।
जिल्लामा रहेका ६० वटा स्वास्थ्य चौकी, ७ वटा सहरी स्वास्थ्य केन्द्र, ३ वटा सामुदायिक स्वास्थ्य इकाई र ३ वटा अस्पतालमध्ये २ ठाउँको स्वास्थ्य संस्थाको मात्र हस्तान्तरण प्रक्रिया वाँकी रहेको छ । साविकको रंगेली नगरपालिकामा रहेको सहरी स्वास्थ्य केन्द्र पछिल्लो पटकको नगरपालिका गठनका क्रममा सुनवर्षी नगरपालिका क्षेत्रमा पर्न गएको छ । तर वजेट भनें रंगेली नगरपालिकामै आएपछि रंगेलीले अर्काे सहरी स्वास्थ्य केन्द्र खडा गरेको छ । उता, पुरानो स्वास्थ्य केन्द्र प्राविधिक कमजोरीका कारण वजेटबाट छुट हुन पुगेपछि विवाद उत्पन्न भएको जिल्ला जनस्वास्थ्य अधिकृत चन्द्रदेव मेहताले जनाए । ‘त्यहाँको र जहदा गाउँपालिकाको वाहेक अन्यत्र सवैतिरको स्वास्थ्य संस्था हस्तान्तरण भइसक्यो ।’– उनले भने । त्यसमा पनि जहदाको बुधवार हस्तान्तरण गर्ने कार्यक्रम रहेको वताए ।
संघीय नेपालको संविधान ०७२ को अनुसुचि ५, ६, ७, ८ र ९ मा सरकारी निकाय स्थानीय पालिकाले सञ्चालन गर्ने अधिकारको कुरा उल्लेख छ । स्थानीय निकाय सञ्चालन ऐन ०७४ ले पनि सो कुरा थप प्रष्ट्याएको छ । तर हाल अस्पतालका लागि भनें हस्तान्तरणको निर्देशन आइनसकेको जनस्वास्थ्य अधिकृत मेहताले सुनाए । विराटनगरको कोशी अञ्चल अस्पताल, उर्लाबारीको उर्लाबारी अस्पताल मंगलबारे र रंगेलीको रंगेली अस्पतालको तलव, भत्ता र अनुगमन् स्थानीय निकायले नै हेरेपनि हस्तान्तरणको निर्देशन आइनसकेको हो ।
हस्तान्तरणको अभियानका क्रममा पछिल्लो पटक पथरीशनिश्चरेमा रहेका ४ वटा स्वास्थ्य संस्था मंगलबार नगरपालिकामा हस्तान्तरण भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा विकास हुँदै गरेको पथरी स्वास्थ्य चौकीका साथै शनिश्चरे स्वास्थ्य चौकी, हसन्दह स्वास्थ्य चौकी र वडा नम्बर ३ को सहरी स्वास्थ्य केन्द्र औपचारिक रुपमा नगरपालिका कार्यालयको मातहतमा गएको हो ।
एक कार्यक्रमकाबीच जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख मेहताले नगरपालिका प्रमुख दिलिपकुमार राईलाई ती सवै कार्यालय सञ्चालन तथा स्वामित्व हस्तान्तरण गरेका थिए । सो अवसरमा, स्वास्थ्य संस्थाका भौतिक, आर्थिक र जनशक्ति हस्तान्रण भएको मेहताले उल्लेख गरे । ‘यसका सम्पूर्ण कुरा नगरपालिकामा हस्तान्तरित भयो । अव यसलाई सवै हिसावले व्यवस्थित गरेर प्रभावकारी रुपमा सञ्चालन गर्नुहोला । हाम्रोतर्फबाट शुभकामना छ ।’
संस्था हस्तान्तरणपछि बोल्दै नगर प्रमुख राईले सिंहदरवारको अधिकार स्थानीय तहमा आएको सुखद अनुभूति भएको कुरा राखे । ‘केही महिनादेखि नगर प्रमुख भएर स्थानीय सरकारका रुपमा काम गर्दै आएको भएपनि यी संस्था हस्तान्तरणले चाँही अधिकार गाउँमै आएछ भन्ने फरक अनुभूति भयो ।’– उनी भावनात्मक रुपमा प्रस्तुत हुँदै भने ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले स्वास्थ्य क्षेत्रका कर्मचारीलाई निर्देशन दिँदै राम्रो काम गर्नेलाई प्रोत्साहन गरिने र नराम्रो गर्नेलाई दण्डित गरिने भन्दै राम्रो काम गर्न सवैलाई हौस्याए । जनस्वास्थ्य निरीक्षक एवम् नगरपालिकाको स्वास्थ्य संयोजक मुरारी आचार्यले स्रोत र साधनले भ्याएसम्म नगरपालिकालाई स्वस्थ नागरिकको नगर वनाउने कुरामा आफुहरु प्रतिवद्ध हुने जनाए ।
सरकारले निर्देशिका जारी गरी स्वास्थ्य संस्थाहरु माघ मसान्तभित्र सम्वन्धित पालिकामा हस्तान्तरण गर्न निर्देशन दिएको थियो ।
.