बेलबारी/ मोरङको बेलबारी १ नक्सलवारीमा रहेको जनता आधारभूत विद्यालयको स्वर्ण महोत्सव मंगलवार देखि शुरु भएको छ । महोत्सवको अवशरमा विद्यालयको नवनिर्मित दुईकोठे भवन कार्यक्रमका प्रमुख अतिथि तथा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरेका थिए । साँसद विकास कोषबाट प्राप्त १६ लाख रकमबाट भवनको निर्माण भएको हो । पूर्व सांसद दिलीप गच्छगार मार्फत सो रकम विद्यालयलाई प्रदान भएको विद्यालयले जनाएको छ ।
कार्यक्रमको अवशरमा स्थानीय देवीप्रसाद अर्यालले अक्षयकोष वापत १ लाख १ हजार पाँचसय रुपैया कार्यक्रममा हस्तान्तरण गरेको छ । त्यसैगरी कविराज खुलाल र शिवप्रसाद बरालले पनि अक्षयकोषको स्थापनाका लागि विद्यालयलाई रकम हस्तान्तरण गरेका छन् । कार्यक्रममा पूर्वप्रअ, व्यवस्थापन समितिका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा चर्चित गायक साजन राईले सुमधुर गीत प्रस्तुत गरेका थिए ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले पनि गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा बेलबारीका राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए । नेकपा एमालेका ईरान राई, माओवादी केन्द्रका तिलकप्रसाद राई , नेपाली काँग्रेसका शंभु भट्टराई, महेन्द्र सुवेदी, संघीय समाजवादी फोरमका तिलकप्रसाद राई र समाजसेवी प्रताप थापाले शुभकामना मन्तव्य राखेका थिए । तीन दिन सम्म चल्ने महोत्सवमा विहीवार लोकनृत्य प्रतियोगिता रहने आयोजकले जनाएको छ । विद्यालयको स्वर्ण स्मारक राष्ट्रपति विद्यादेवी भण्डारीले अनावरण गरेकी थिईन् ।
कार्यक्रममा विद्यालयका शिक्षक टेकराज एक्चाईमगरको संचालन तथा महोत्सव समितिका संयोजक पदम निरौलाको सभापतित्वमा सम्पन्न भएको थियो ।