विराटनगर । १ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय सञ्चालनमा आएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिब यादवराज कोइरालाले आइतबार पदबहाली गरेसँगै कार्यालय सञ्चालनमा आएको हो ।

विराटनगर रोडसेस स्थित क्षेत्रीय कृषि निर्देशनालयको भवनमा कार्यालय सञ्चालनमा आएको हो । कार्यालयको बोर्ड उद्घाटनपछि प्रमुख सचिब कोइरालाले पदबहाली गरे ।

क्षेत्रीय कृषि निर्देशनालयका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्र उप्रेतीले प्रयोग गर्दै आएको कोठालाई मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिवको कार्यकक्ष बनाइएको छ । पदबहाली गर्दै प्रमुख सचिव कोइरालाले अब तत्काल ऐन प्रमाणिकरण तथा कार्यसम्पादन नियमावली निर्माण गर्ने बताए । तत्काल ऐन निर्माण गर्ने, कार्यसम्पादन नियमावली तर्जुमा गर्ने लगायतका काम अघि बढाइने उनले बताए ।

ऐन तथा नियमावली निर्माण गरेपछि मात्रै समृद्धि र विकास तर्फ प्रदेश सरकार अगाडि बढ्ने प्रमुख सचिब कोइरालाको भनाइ छ । ‘तत्कालिन कानून बनाउनु पर्ने कुरा, तत्कालिन अवस्थामा प्रमाणिकरण ऐन सम्बन्धी कार्यविधि तय गर्नुपर्ने, कार्यसम्पादन नियमावली तर्जुमा गर्नेलगायतका काम तत्काल गरिने छ’, प्रमुख सचिव कोइरालाले भने, ‘यि काम सकिएपछि मात्रै सरकारले पूर्णरुपमा गति लिन सक्नेछ ।’

मुख्यमन्त्री एव मन्त्रिपरिषदको कार्यालय सचिव सन्तोष श्रेष्ठका अनुसार मन्त्रालयमा २३ जना कर्मचारी रहनेछन् । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय रहेको उक्त भवन एशियाली विकास बैंकको सहयोगमा २०५० सालमा निर्माण गरिएको हो । भवनसँगैको पश्चिमतर्फ मुख्यमन्त्रीको निवास राखिने भएको छ ।