पथरी । मोरङ पथरीशनिश्चरे नगरपालिकाको कार्यशैली प्रति वडाध्यक्षहरुले असन्तुष्टी जनाएका छन् । सोमबार पथरीमा पत्रकार सम्मेलनको आयोजना गरी वडाध्यक्षहरुले असन्तुष्टी राखेका हुन । पथरीशनिश्चरे वडा नं. १० का वडाअध्यक्ष सागर राई, वडा नं. ४ का गोविन्द भण्डारी, वडा नं. ६ का जय तामाङ, वडा नं. ८ का बाबुराम दाहाल र वडा नं. ५ का कार्यवाहक अध्यक्ष चेतेन्द्र खड्काले संयुक्त रुपमा नगरपालिकाको कार्य प्रति असन्तुष्टी जनाएका हुन् । वडाध्यक्षहरुले संयुक्त रुपमा निकालिएको प्रेस विज्ञप्तीमा नगरपालिकाको कार्यहरु प्रति आफूहरु केही सहमत नभएको दाबी गरिएको छ । वडाध्यक्षहरुले नगर खेलकुद विकास समितिको गठन, प्रत्येक वडामा मेलमिलाप समिति गठन, नगरपालिकामा प्रेस संयोजको नियुक्ति लगायतको निर्णयहरुमा आफूहरुको सहमति नभएको र कुनै माइनटमा हस्ताक्षर नगरेको बताए । सो पत्रकार सम्मेलनमा वडा नं. ४ का अध्यक्ष गोविन्द भण्डारीले भने–‘नगरपालिकाले धेरै वटा निर्णयहरु हामीलाई थाहै नदिई गर्ने गरेका छन् । हरेक वडामा मेलमिलाप समिति निर्माण गरिएको छ अरे यस विषयमा हामी अनभिज्ञ छौं ।’ भण्डारीले थपे–‘हाम्रा उपमेयर यमुना बिष्ट बास्तोलाले हामी वडाध्यक्षसँग सरसल्लाह र छलफल नै नगरी आफ्नो मनोमानी ढंगले निर्णय गर्ने गरेका छन् ।’ यस विषयमा नगरपालिकाका उपमेयर यमुना बिष्ट बास्तोलाले आफूले मनोमानी ढंगले कार्यसञ्चालन नगरेको सुनाइन् । उनले भनिन्–‘नगरपालिकामा मैले एक्लै निर्णय गरेर हुन्न उहाँहरु पनि एक जिम्मेवार व्यक्ति हुनुहुन्छ । त्यसैले म संविधान भन्दा माथि भएर काम गर्दिनँ र गर्ने गरेको पनि छैन ।’ यसैगरी वडा नं. १० का सागर राईले भने–‘नगरले गरेको नगर खेलकुद परिषद् गठनमा खेललाई बुझेको र नेतृत्व गर्न सक्ने व्यक्ति आउनुपर्छ भन्ने हाम्रो माग हो ।’