बेलबारी । मोरङ क्षेत्र नं. ३ का सांसद भानुभक्त ढकालले जेसिजका सिद्धान्त र क्रियाकलापबाट राजनैतिक दलहरुले पनि धेरै सिक्न सक्ने बताएका छन् । जेसिजको तीनवटा कार्यक्रममा बसिसक्दा आफू जेसिजबाट प्रभावित भएको बताएका छन् । शनिवार मोरङको बेलबारीमा बेलबारी जेसिजद्धारा आयोजित वर्ष २०१७ को पदस्थापन तथा सम्मान कार्यक्रम बोल्दै सांसद ढकालले सो बताएका हुन् । पहिलो पटक ईन्द्रपुर जेसिजको कार्यक्रममा बसे त्यसपछि लगातार पथरी जेसिज र बेलबारी जेसिजको कार्यक्रम बस्दा वास्तवमा जेसिज युवाहरुको शिक्षालयको रुपमा रहेको ढकालले बताएका छन् । युवाहरुलाई अनुशासित र मर्यादित बनाउन जेसिजले खेलेको भूमिकाको प्रसंशा गर्दै राजनैतिक दल भित्र पनि त्यसको अभ्यास हुनुपर्ने बताएका छन् । यद्यपी जेसिजको मुल मन्त्रमा गरिएको भगवानको सर्वश्रेष्ठता प्रति भने संशोधन गर्न सुझाव दिएका छन् । जेसिज भगवान नमान्ने भौतिकवादीहरुको संस्था बन्न सकोस भन्ने सुझाव राखेका थिए । त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष भोला दुलालले बेलबारी जेसिजको कार्यक्रमको विषयमा आलोचनात्मक टिप्पणी गरेका छन् । जेसिज आफै अनुशासन र विधिको कुरा सिकाउने र सिक्ने थलो भएको हुँदा कार्यक्रम चलिरहँदा जेसीहरु हल भन्दा वाहिर रहेपछि दुलालले तिखो टिप्पणी गरेका थिए । कार्यक्रममा उपस्थित जेसिहरुले तोकिएको पोशाक नलगाएको विषय पनि अतिथि दुलालले उठाएका थिए । कार्यक्रममा बेलबारी जेसिजको विभिन्न गतिविधिमा सहयोग गर्नेहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा जेसिजका समचारहरु सम्प्रेषण गर्ने पत्रकारहरु नरेन्द्र बस्नेत, उत्तम पोख्रेल र खनेन्द्रकुमार राई(अर्जुन) लाई सम्मान गरिएको थियो ।कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष माधवराज थापाले वर्ष २०१८ को लागि अध्यक्ष राजन प्रसाईलाई पदहस्तान्तरण गरेका थिए ।