पानवारी । स्थानीय सरकारको लागी जर्मन सरकारले तयार पारेको पुस्तिका विमोचन भएको छ ।
धरान उपमहागरपालिकाको सभाहलमा भएको विमोचन कार्यक्रममा जर्मन सरकारको सहयोगमा सञ्चालित कार्यक्रमले तयार गरेको प्रशिक्षण पुस्तिका जर्मन राजदुत रोलान्ड शेफर, धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा लागयतले विमोचन गरेका थिए ।
पुस्तिकामा स्थानीय सरकारका प्रमुख जिम्मेवारी जस्तैः भवन निर्माण नियमावली, राजस्व सुधार कार्यायोजना, कार्यालय व्यवस्थापन, समावेशी बजेट लगायतका विषयहरु समेटिएको जनाइएको थियो । सो अवसरमा धरान उपमहानगरपालिकाले एक अन्तरक्रिया कार्यक्रमको अयोजना समेत गरेको थियो । अन्तरक्रिया कार्यक्रममा धरानको वर्तमान अवस्था र चुनौतिका विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर तारा सुब्बा, उपमेयर मञ्जु भण्डारी, नेपालगञ्ज उपमहागरपालिकाका मेयर डा. धवलशमशेर राणा, दुहबी नगरपालिकाका मेयर वेदनारायण गच्छदार, निलकण्ठ नगरपालिकाका मेयर भीमप्रसाद ढुंगाना र विदुर नगरपालिकाकी उपमेयर गीताकुमारी दाहातको सहभागीता रहेको थियो ।
जर्मन सरकारसँगको सहकार्यमा विगतमा धरान नगरपालिकाले प्राप्त गरेको उपलब्धीका बारेमा अन्य नगरपालिकाहरुसँग जानकारी आदान प्रदान गर्ने उदेश्य रहेकोले धरानमा नै पुस्तक विमोचन कार्यक्रम राखेको धरान उपमहानगरपालिकाकाकी उपमेयर भण्डारीले जानकारी दिइन् ।