भद्रपुर । राष्ट्रिय हात्तीपाइले रोग निवारण अभियान अन्तरर्गत यो वर्ष झापामा ७ लाख ४६ हजार ४ सय ५३ जना औषधि खाने जनसंख्या रहेको पाइएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय झापाले बिहीबार आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा यस्तो जानकारी गराएको हो । फागुन १२ देखि १४ गतेसम्म अभियान सञ्चालन गरिने कार्यालयका फोकल पर्सन जीवन चौलागाइले बताए । तिनदिने अभियानको सम्पुर्ण तयारी पुरा भएको जानकारी गराउदै औषधि खुवाउनको लागि ३ हजार ७ सय ८६ जना स्वयंसेवक र साढे चार सय स्वास्थ्यकर्मी परिचालन हुने छन् भने औषधिमा १८ लाख ६६ हजार १ सय ३२ रुपैया खर्च हुने फोकल पर्सन चौलागाइले जानकारी दिए । झापामा विगत पाँच वर्षको तथ्याङ्मा एक हजारमा २४ जनालाइ यो रोग देखिएपछि औषधि खुवाउने अभियान चलाइएकोमा पुनः पाँच वर्षपछि सर्वे गर्दा एक हजारमा १० जनामा झरेपछि विभागले दुइवर्ष अभियान थपगरि सातौ चरणको अभियान सञ्चालन भइरहेको उनले बताए । अभियानको क्रममा एक हजारमा एक जनापनि रोगी फेलानपरेपछिमात्र सरकारले एकवर्ष थप गरी हात्तीपाइले रोग निर्मूलको घोषणा गरिने उनको भनाइ थियो । सरकारले सन् २०२० सम्ममा रोग निर्मूलको घोषणा गर्ने लक्ष्य लिएकोले अभियानलाई सफल बनाउन सवै पक्षले सहयोग पुर्याउनु पर्ने कार्यक्रमका सहजकर्ता मेची अञ्चल अस्पतालका फिजिसियन डाक्टर गोविन्द कँडेलले बताए । अहिले औषधि सेवन गरेमा १५ वर्षपछि शरिरमा अपाङगता नहुने भएकोले औषधि सेवन अनिवार्य रहेको उनको भनाइ थियो । रोग लागिसकेपछि निर्मूल नहुने तर रोकथाम भइ थप पीडा हुनवाट बचाउने भएकोले समयमानै ध्यान पुर्याउन अनुरोध गरेका थिए । तिन दिने अभियानको शुक्रवार(आज) भद्रपुरनगरपालिकाको १० नम्बर वडा कार्यालयमा झापाका प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकाय,स्वास्थ्यकर्मी,पत्रकार लगायतले औषधि खाएर अभियानको उद्घाटन गरिने भएको छ । कार्यालयका निमीत्त कार्यालय प्रमुख देवराज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा भेक्टर कन्ट्रोल अधिकृत वेद प्रसाद घिमिरेले औचित्यमाथि प्रकाश पारेका थिए भने अधिकृत कुल बहादुर पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए ।