विराटनगर । विप्लव निटक नेकपा कम्युनिष्ट पार्टी कोशी ब्यूरो न्यायीक विभागले विराटनगर ९ जनसेवा टोल (पुरानो मुसहरीटोल) निवासी आफ्ना नेता लव प्रधानको घर उठाउन खोजेको भन्दै विरोध गरेको छ ।
विगत ३५ वर्षदेखि १२ धुर जग्गामा घर बनाएर बसेका प्रधानलाई विराटनगर ६ सरौचियाका विजय मल्लले अनेक बहाना बनाएर घर उठाउन खोजेको न्यायीक विभागले जनाएको छ ।
जग्गाको विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ । विराटनगरमा शुक्रबार पत्रकार सम्मेलन गरी न्यायीक विभागका कोशी ब्यूरो सदस्य नरेश शर्माले मल्लले आफ्ना नेता प्रधानलाई अनावश्यक दुःख दिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै पीडित लब प्रधानले नेपालमा सामन्तवादको मुख्य नाइकेको अवसान भएपनि केही अवशेष बाँकी रहेकाले आफूलाई दुःख दिइरहेको बताए ।
धनाड्य मल्लले त्यस टोलको ऐलानी जग्गा कब्जा गर्ने उद्देश्यले विभिन्न बाहानामा आफूहरुलाई उठिबास लगाउन खोजीरहेको प्रधानको दाबी छ । नेकपाले भने जग्गा विवादबारे सर्वोच्चमा पेश भएको दाबीबाट पछि हट्न मल्ललाई आग्रह गरेको छ ।