भद्रपुर । निर्माणाधिन करोडौंका योजनाहरु निर्माणमा ठेकेदार पक्षले ढिलासुस्ती, गुणस्तरहिन, काम गरिरहेको जनगुनासो आउन थालेको छ । झापा जिल्लामा विकास निर्माणका कार्यहरुमा भइरहेको निर्माणमा जनस्वास्थ्य प्रति समेत बढ्दो प्रदुषण जस्ता जनगुनासा आउन थालेको हो । आएका गुनासालाइ झापा जिल्ला समन्वय समितिले पहिलो चरणमा विकास निर्माणको प्रत्यक्ष रेखदेख तथा निगरानी नियन्त्रणको जिम्मेवारी लिएका प्राविधिक पक्षधर प्रमुखहरुसित छलफल सुरु गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल विश्वकर्माले शुक्रवार झापा जिल्लाको भौतिक विकासको प्रत्यक्ष रेखदेखको जिम्मेवारी पाएका जिल्ला प्राविधिक कार्यालय, सिञ्चाई डिभिजन, सडक डिभिजन, सहरी विकास, हुलाकी सडक परियोजनाका नेतृत्वकर्तासित ती मातहतमा भइरहेका काम तथा प्रगतिको अवस्था वारे छलफल गरेका छन् । निर्धारित समयमा काम गर्न नसक्ने निर्माण ठेकेदारलाई कानुनी दायरामा ल्याएर काम छिटो सम्पन्न गराउन प्राविधिकहरको सहयोग महत्वपूर्ण हुने भन्दै प्रमुख विश्वकर्माले निर्माणाधिन आयोजनामा गुणस्तरहिन काम भएको पाइए रोक्न समेत आग्रह गरेका छन् । उनले पछिल्लो समय हुलाकी सडक परियोजना तथा सहरी विकासका काममा ढिलासुस्ती तथा गुणस्तरका विषयमा व्यापक प्रस्न उठेकोले प्राविधिकको क्षमतामा समेत सोच्नु पर्ने अवस्था आएकोले सच्चिन आग्रह गरेका छन् । झापामा निर्माणाधिन करोडौंका योजनाहरु निर्माणमा ठेकेदार पक्षले ढिलासुस्ती गर्दा स्थानीय नागरिकले स्वास्थ्य जोखिम ब्यहोर्नु परिरहेको छ भने ती योजना जनमैत्री बन्न नसकेको आरोप लागिरहेको छ । कम मूल्यमा ठेक्का लिने र लागत सहभागिता बढी देखाएर काम ढिलो गरी मूल्य बृद्धिको इष्टमेट प्राविधिक मार्फत बढाएर ल्याई कमिसन बाँढने गरेको आरोप निर्माण व्यवसायीहरुलाई लागिरहेको छ । यस्ता खाले आरोपबाट बच्न निर्माणका चरणमा रहेका योजनाका कामहरु निर्माण गुणस्तरीय र छिटो सम्पन्न गराउने दायित्व प्राविधिकसित रहेको स्थानीय नागरिक बताउने गर्छन् ।