लक्ष्मीमार्ग/ मोरङको बेलबारी नगरपालिका १० स्थित भाउन्ने चोक उत्तर जंगलमा बेवारिसे अवस्थामा शनिबार बिहान फेला परेकी महिलाको करिव ७ महिनाको गर्भ समेत रहेको खुलेको छ ।

प्रहरीले अहिलेसम्म ती महिना को हुन् भन्ने विषयमा जानकारी पाउन सकेको छैन । इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार कोही कसैले मार्ने उद्देश्यका साथ उनलाई जंगलमा ल्याइएको हुनसक्छ ।

‘घाँटीमा निल र डाम छ,’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख रामजी कट्वालले भने, ‘घाँटी थिचेर मार्ने प्रयास भइरहेको बेला गाउँले पुगेपछि अपराधि फरार भएको हुनसक्ने आशंका छ ।’ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएकी ती महिला अझै बोल्न सकेकी छैनन् ।

‘घाँटीमा थिचेर अन्तिम अवस्था पुर्याएको कारण उनी अझै बोल्न सक्ने अवस्थामा छैनन्,’ कट्वालले भने, ‘भोलिसम्ममा उनको स्वास्थ्यमा सुधार हुने अपेक्षा छ ।’ कटवालका अनुसार तराई मूलकी ती महिलाको घर सुनसरीको इनरुवा आसपास हुनसक्ने अनुमान गरिएको छ । ‘आइतबार बिहान केही संकेतमार्फत उनले सुनसरीको इनरुवा घर भएको बताएकी छन्,’ कटवालले भने।

आफन्त कोही नहुँदा उपचारमा समस्या

यसैबीच फेला परेकी उनको उपचारका लागि प्रहरीलाई समस्या भएको छ । विपी प्रतिष्ठानले पैसाबिना उपचार गर्न नसक्ने बताएपछि प्रहरीलाई पनि समस्या परेको छ । ‘अहिलेसम्म कोही पनि उनको आफन्त नआएका कारण उपचारमा आर्थिक अभाव भएको छ,’ कटवालले भन्नुभयो ।

शनिबार बिहान दाउरा घाँस काट्न जाने स्थानीयले ति महिलालाई फेला पारेका थिए । अन्दाजी २५ वर्षीय महिला मुखबाट फिँज काडेर अचेत भएको अवस्थामा भेटिएकी थिइन् । सुत्केरी बेथासमेत लागेकी ति महिलालाई भाउन्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय बेलवारीको सहयोगमा उपचारको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्थान धरान लगिएको थियो ।