विराटनगर । जनताको सेवामा सर्मित हुने भन्दै निर्वाचित भएका जनप्रतिनिधिहरु अहिले सेवा सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलित भएका छन् ।

केही दिन यतादेखी स्थानिय तहका वडा अध्यक्ष तथा सदस्यहरु सेवा सुविधा पाउनुपर्ने माग राख्दै आन्दोलित भएका हुन् ।

विराटनगरस्थित १ नम्बर प्रदेशको प्रदेशसभा बैठक बस्नु अघि वडा सदस्यहरुले सेवा सुविधाको माग गर्दै घेराउ गरेका छन् ।

बुधबार संचालन भएको संसद बैठकमा जनप्रतिनिधिको सेवा सुविधा तोकिन सक्ने भन्दै उनीहरुले आफूहरुले पनि सुविधा पाउनुपर्ने माग गर्दै संसद भवन अगाडि घेराउ गरेका हुन् । हक अधिकार तथा सेवा सुविधा संघर्ष समितिका अध्यक्ष दिपेन्द्र विष्टले आफूहरुको आन्दोलन जारी रहेको बताए ।

संसद परिसरमा उपस्थित वडा सदस्यहरुले वडाध्यक्ष तथा मेयर उपमेयरले जस्तै आफूहरुले पनि सुविधा पाउनुपर्ने बताएका छन् । नगरपालिका तथा गाउँपालिकाका प्रमुख उपप्रमुख र वडा अध्यक्षलाई सेवा सुविधा दिने भएपनि आफूहरुलाई भने नदिएको भन्दै वडा सदस्यहरुले विरोधका कार्यक्रम सुरु गरेका हुन् । सभामुख प्रदीपकुमार भण्डारीलाई भेटी वडा सदस्यहरुको टोलीले आफूहरुको विषयमा गम्भिर हुन आग्रहसमेत गरेका छन् । वडा सदस्यहरुले वडा अध्यक्ष र सचिवले योजना निर्माणमा समावेश नगराएको, न्यायिक समितिमा नराखेको, केही समितिमा राखेको भएपनि निष्क्रिय गराउन खोजेकोलगायतका आरोप समेत लगाउँदै आएका छन् ।

केही दिन अगाडी स्थानिय तहका वडा अध्यक्ष तथा सदस्यहरुले १ नम्बर प्रदेशको मुख्यमन्त्रीको कार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सेवासुविधाको माग गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए ।