विराटनगर । बाढी पीडितको लागि स्थानिय तहमा आएको बजेट एक वर्ष हुन लाग्दा पनि वितरण हुन नसकेपछि विराटनगरका बाढी पीडितले तालाबन्धी गरेका छन् । लामो समयसम्म पनि जनप्रतिनिधीहरुले बाढी पीडीतलाई राहत स्वरुप आएको पैसाँ वितरण नभएको भन्दै आक्रोशित पीडितहरुले बिहीबार विराटनगर – १६ को वडा कार्यालयमा तालाबन्धी गरेका हुन् । १६ नम्बर वडाका बाढी पीडितहरुले सरकारले दिने रकम नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी गर्दै नाराबाजी गरे । बाढीपिडितले पाउने रकममा जनप्रतिनिधीहरुले चलखेल गरेको आरोप लगाउँदै आन्दोलित बनेका छन् । विराटनगर–१६ वडामा बाढीबाट अन्य वडा भन्दा यस वडामा बढी नै प्रभावित भएको भन्दै ८ सय ३० परिवारले राहत रकम पाउनु पर्नेमा २ सय ३० परिवारलाई मात्र उपलब्ध गराउने भनेपछि तालाबन्दी गरेको बाढी पीडितहरु बताउछन् । त्यसमा पनि पाउनु पर्ने व्यक्तिले नपाएको, एउटै घरका ४ जनासम्मले पाएको भन्दै वडा कार्यालय घेराउ गरी तालाबन्धी गरेका थिए । उनीहरुले सरकारले सबै बाढीपिडतलाई दिइने भनेर पठाएको रकम आफूहरु बाढीपिडित भएर बसेको १ बर्ष पुग्न लाग्दा पनि नपाएको भन्दै वडाअध्यक्ष तथा विराटनगर महानगरपाकिा प्रमुखको लापर्वाहीका कारण नपाएको आरोप लगाएका छन् । विराटनगर १६ का बाढी पीडित केवल यादवले सरकारको बाढी पीडितको लागि पठाएको राहत रकम तत्काल वडा कार्यालयले वितरण नगरे थप आन्दोलन गर्न बाध्य हुने बताए । ‘महानगर क्षेत्रमा सबैभन्दा बढी प्रभावित यस वडामा भएका छन्,’ उनले भने, ‘सरकारबाट बाढी पीडितको लागि आएको पैसाँ तत्काल वितरण हुनपर्दछ । अनि मात्र हामी पीडितले राहतको अनुभूति गर्न पाउँछौं ।’ मोरङ जिल्लामा १२ हजार ९३ परिवार बाढीबाट पूर्ण रुपमा क्षतिमा परेको थियो । नेपाल सरकारले पूर्ण प्रभावित बाढीपिडित प्रति परिवारलाई २५ हजार दिइने निर्णय गरेको छ । विराटनगर १६ मा पूर्ण क्षति ४ सय २१ परिवार, आंशिक क्षति ५ सय ६३ परिवार रहेको विराटनगर १६ का वडाअध्यक्ष मनोज सुब्बाले जानकारी दिए । ‘यस वडाका सबै बाढी पीडितको नाम संकलन गरेर महानगरपालिकामा बुझाएको हो,’ वडा अध्यक्ष सुब्बाले भने, ‘२ सय ३० जनाले मात्र पाउने भनेर आएको छ ।’ उनले आफूले बाढीपिडितको रकममा कुनै चलखेल र हिनामिना नगरेको भन्दै अहिले पनि पहल गरिरहेको बताए ।