भद्रपुर/ झापामा रहेर भन्सार छलि काम गर्दै आएका कारोबारीले विभिन्न तहमा सेटिङ् मिलाएर काम गर्दै आएको थप पुष्टि भएको छ । भद्रपुरमा रहेका तिन समुहमा रहेका कारोबारीले आ– आफनो लाइन मार्फत झापा लगायत सुनसरी, मोरङ् ,इलाम जिल्लाका नाकासमेत प्रयोग गरि भन्सार छलेर लत्ता कपडा, मोटर पार्टस,लागूऔषध,इलोक्ट्रोनिक सामान भित्र्याइरहेका छन् भने नेपालवाट सुपारी, नेपाल लिभरवाट उत्पादित सामान लगायत चुरोट समेत भारत तर्फ पठाउने गरेका छन् ।

वर्षौयता देखि मानव तस्कर र पछिल्लो समय वन्यजन्तु ओसार पसार समेत हुने गरेको उदाहरण प्रशस्त छन् । कारोबारीले भारतको सिलगढी बजारका भिपी ,जिन्दल , विहारी टेर्डस,केडिया,बि.के,सुरबी लगायतका दर्जन भन्दा बढी पसलवाट दैनिक तिन देखि चार सय पोका कपडाका सामान उठाउने गरेका छन् । उठाइएका एक देखि दुइसय पोकालाई भारतको पानी टंकी हुदै काकडभिट्टा र भारतकै गलगलिया नाका हुदै भद्रपुर,केचना, पृथीवीनगर लगायतका नाकावाट विर्तामोड निस्कने गरेको छ । कारोबारीले सामान वैद्य बनाउनलाई झापाको मेची भन्सार र भद्रपुरको छोटी भन्सारमा केहि पोका काट्ने गरेका छन् । उता बाँकी रहेका पोकालाई भारतको बिरपुर, हरिपुर र भिमनगरमा जम्मा गराइ सुनसरीको श्रीपुर, भोक्रा– इनरुवा हुदै इटहरी आउने गरेको पाइएको छ । कारोबारीले कहिले रानी भन्सार र कहिले कोसी ब्यारेज छोटी भन्सारमा केहि पोकालाई वैद्य वनाउने गरेका छन् । सशस्त्रका साधा पोशाकमा खटिएका दुर्गानन्दको सेटिङ्मा कृष्ण र सञ्जीवले काम गर्दै आइरहेका छन् । सिलगढीवाट उठाइएका प्रतिपोका दुइ हजारमा श्रीपुरको बाटो हुँदै इटहरी र धरानसम्म आउने गरेको छ । झापा भन्दा सुनसरी र मोरङ्का नाका सस्तो भएर काम गर्दै आएको स्रोतले जनाएको छ । भारतबाट कपडाका सामान नेपाल भित्र्रयाउँदै आएका कारोबारीले पछिल्लो समय मोरङ र सुनसरीका सिमावर्ती क्षेत्रबाट सुरक्षा निकाय र भन्सार कर्मचारीसँगको सेटिङमा आफ्नो धन्दा चलाइ रहेका छन् ।

मङ्गलवार मोरङ प्रहरीले रानी भन्सार हुँदै भित्रिएको करिब ५० लाख मूल्यको कपडा को १ ख ४०१० नम्बरको ट्रकसहित समातेर राजश्व अनुसन्धान इटहरीलाइ बुझाएपछि तस्करहरु अतालिएका छन् । ट्रकमा राखेर ल्याउदै गरेको अवस्थामा शंका लागेर प्रहरीले गाडीसहित कपडा नियन्त्रणमा लिएको थियो । इटहरी,विराटनगर र धरानका दश जना व्यापारीको नाममा काटिएको प्रज्ञापन पत्र रहेको राजस्व अनुसन्धान कार्यालय इटहरीले जनाएको छ । अनुसन्धानमा असर पर्ने जनाउँदै कार्यालयले विवरण भने खुलाउन चाहेको छैन । सिलीगुडीवाट भित्राएको सामान पिक अप भ्यान र छोटा हात्ती प्रयोग गरी बिर्तामोड , दमक , उर्लावारी , इटहरी र धरानमा रहेका कपडाका थोक व्यवसायीकोमा जाने गरेको छ । झापावाट काम गर्ने कारोबारीलाई इटहरी स्थित राजस्व अनुसन्धान कार्यालयले दुःख दिन थालेपछि कारोबारीले विर्तामोडका एक कपडा व्यापारीकोमा मासिक एक लाख रुपैया जम्मा गर्ने गरेका छन् । रकमलाइ समय मिलाएर राजस्वका एक कर्मचारीले लैजाने गरेका छन् ।

रकम दिएको विषयमा राजस्व अनुसन्धान कार्यालय इटहरीका अनुसन्धान अधिकृत देवराज भुषाल अनभिज्ञ भएको बताउँछन् । एउटा कर्मचारीले त्यस प्रकारको आँट गर्ननसक्ने उनले दाबी गरे । कार्यालय प्रमुख काठमाडौ जानु भएकोले आएपछि यस विषयमा सोधपुछ गरिने उनले जनाए । सवै कर्मचारीको एउटै उद्देस्य नभएकोले कतिपय घट्नामा छापा मार्नजानु भन्दा अगाडीनै सम्बन्धित र्फमले जानकारी पाउने गरेकोले नि केहि समस्या आएको उनको भनाइ छ । पछिल्लो समय स्थानीय तहको निर्वाचन देखि र हालको सरकारले स्पष्ट कार्यनिर्देशन नदिएका कारण काम गर्न अन्यौल भएको बताए ।

आफूहरूलाई अवैद्य रुपमा सामान भित्रिएको सूचना आए जुनसुकै वेला बरामद गरिने बताउँदै ईटहरी र धरानका व्यवसायीमाथि निगरानी बढाउने जानकारी गराएका छन् ।