शनिश्चरे/मोरङ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद भानुभक्त ढकालले आफ्नो क्षेत्रका लागि ल्याउनु पर्ने विकास निर्माणका योजनाहरुका बारेमा सुझाव माग्दै छलफल अघि बढाएका छन् ।
ढकालले सो क्षेत्र अन्तर्गत ‘क’ उपक्षेत्रका लागि विहीवार पथरीशनिश्चरेमा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठवन्धनका अगुवाहरुसँग छलफल चलाएर योजनाको सुझाव माग्ने क्रम अघि बढाएका हुन् । सो क्रममा एमालेका पोलिटव्यूरो सदस्य समेत रहेका उनले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत उल्लेख गर्दै वामपन्थीहरुको वहुमतको सरकारबाट देश निर्माणको अवसर मिलेको वताए । उनले आफ्नो निर्वाचन क्षेत्रमा पार्टीको निर्देशनमा आफुले निर्वाचनताका गरेका प्रमुख ५ वटा मुद्धालाई पुरा गर्न आफु दृढ प्रतिवद्ध रहेको सुनाए । सुकुम्वासी तथा अव्यवस्थित वसोवासी, खोलाको तटवन्ध, बाहुनीको पेटेलखानीको अन्वेषण र उत्खनन्, आदिवासी जनजाति सांस्कृतिक प्रतिष्ठान निर्माण र पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापनलाई मुख्य मुद्धाका रुपमा अघि बढाएको स्मरण गराए ।
‘ती प्रमुख मुद्धाका साथै थप आवश्यक प्रभावकारी योजना वनाउन सुझाव मागेको हुँ ।’– उनले प्रष्ट्याए ।
त्यस क्रममा, पथरीशनिश्चरे नगरप्रमुख एवम् एमाले जिल्ला सदस्य दीलिपकुमार राईले आफ्नो नगर सहितका देशकै सुकुम्वासी तथा दोहोरो स्वामित्वको समस्या वामपन्थीको सरकारले समाधान गर्न नीति वनाउनु पर्ने प्रमुख सुझाव दिए । साथै उनले नगरको पथरी डाइनिया, बुद्धमार्ग, गान्धिमनमोहन मार्ग र जाँते मोड उत्तरको सडक कालोपत्रेका साथै डाँस, मोरङ्गी र वक्राहा खोलामा वायोइन्जिनियरिङ प्रविधिलाई समेत जोडेर तटवन्ध गर्न राष्ट्यि योजनामा पार्नुपर्ने सुझाव थपे ।
केही पालिका मिलेर फोहोरमैला व्यवस्थापन तथा प्रशोधनमा आर्थिक व्यवस्थापन तथा उर्लाबारीदेखि कोसीटप्पसम्मको जंगल क्षेत्रमा वन्यजन्तु आरक्ष एवम् पर्यटन प्रवद्र्धनको काममा पनि केन्द्रको ध्यान जानु आवश्यक रहेको उनले जनाए ।
छलफलमा सहभागिहरुले, चिसाङ सहितका खोलाको तटवन्धन, सिताधापमा डाँस खोलामा पुल सहित विभिन्न ठाउँमा पुल, पुलेसा निर्माण, विद्युत विस्तारका साथै बेलबारीस्थित वाहुनीको पेटेलखानीको अन्वेषण तथा उत्खनन्को कुरा उठाएका छन् । पूर्वपश्चिम मुख्य सडक र दक्षिणको हुलाकी राजमार्गको बीच भागमा पर्नेगरी अर्काे सडक निर्माण आवश्यक रहेको कुरा पनि उठेको छ ।
युवा रोजगार लक्षित कार्यक्रमसँगै जोडेर पथरीशनिश्चरेको भूटानी शरणार्थी रहेको क्षेत्रमा औद्योगिक करिडोर निर्माण, कानेपोखरी रंगेली सडक तथा भाउन्ने आमतोला सिंहदेवी सडक कालोपत्रे, कानेपोखरी तथा भलुवा सिमसार, कृषि क्षेत्रको प्रवद्र्धन सहित विभिन्न विकास निर्माणका कुरा उठाएका छन् । ठेक्का लिएर काम ढिलासुस्ती गर्ने र कमसल काम गर्ने ठेकेदारको परिपाटीलाई परास्त पार्न कडा कानून वनाउनु पर्ने पनि सुझाव दिइएको छ ।
यसका साथै क्षेत्रको मानवीय संसाधनलाई समेत उसैगरी जोड दिनका लागि भाषा, कला, साहित्य र संस्कृति संरक्षण तथा संवद्र्धन, स्वास्थ्य, शिक्षा समेतमा केन्द्र सरकारले योजना ल्याउनु पर्नेमा समेत सहभागिले जोड दिएका छन् । कार्यक्रममा, पथरीशनिश्चरे नगरपालिका, कानेपोखरी गाउँपालिका र बेलवारी नगरपालिकाका वाम गठवन्धनका अगुवाहरु, चण्डीप्रसाद राई, लालवहादुर सुस्लिङ, भोला अधिकारी, जहरमान लिम्बू, रविन थापा, युवराज वास्कोटा, राधिका गौतम, हरि पौडेल, कुमार चाम्लिङ, बाबुराम एङ्देन, मनोज राजवंशी सहितले विकास निर्माणका योजनाहरु टिपोट गराएका छन् । आदिवासी जनजाती प्रतिष्ठान निर्माणका सन्दर्भमा शुक्रवार सांसद ढकाल बेलवारीको छलफलमा सहभागि हुनेछन् ।