भद्रपुर । झापाको सदरमुकामस्थित भद्रपुर नगरपालिका कार्यालयले वडा नम्बर १० लाई खुल्ला दिसामुक्त वडा घोषणा गरेको छ । यही चैत २२ गते झापालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्तरगत नगरपालिकाले शुक्रवार एक समारोहका बीच भद्रपुरका नगर प्रमुख जीवनकुमार श्रेष्ठले वडा नम्बर १० लाई खुल्ला दिसामुक्त वडा घोषणा गरेका हुन् । भारतीय सीमावर्ती नाकासंग जोडिएको नगरपालिकाले पहिलो पटक खुल्ला दिसामुक्त नगरको रुपमा १० नम्बर वडालाई घोषणा गर्न सफल भएको हो । साविक चन्द्रगढी गाविस १, २, ६ र ७ हाल भद्रपुर वडा नम्बर १० मा १ हजार ९ सय ९ घरधुरी रहेका छन् । ७ हजार ६ सय ७१ जनसंख्या रहेको यस वडामा जातिय र भाषागत रुपमा मिश्रित बसोबास रहेको छ । त्यसमध्ये २०७४ साल असार १ गतेको तथ्यांक अनुसार १ सय ४४ घरधुरी शौचालय विहिन रहेका थिए । यु एन ह्याबिट्याट् र भद्रपुर नगरपालिकाको सहकार्यमा सञ्चालित खुल्ला दिसामुक्त अभियानमा स्थानीय जनप्रतिनिधि, टोल विकास संस्था, सरोकारवाला पक्ष, नागरिक समाजले संयुक्त रुपमा दवाव स्वरुप कार्यक्रम सञ्चालन गरेपछि ५३ घरधुरीमा ल्याउन सफल भएका थिए । विपन्न, असहाय तथा अशक्त परिवार रहेका ५३ घरधुरीलाई वडा कार्यालयको पहलमा विभिन्न संघसंस्थाले उनीहरुलाई शौचालय निर्माण गरेपछि खुल्ला दिशामुक्त वडा घोषणा गर्ने सफल भएको नगरका अभियानकर्ता फणिन्द्र दाहालले जानकारी दिए । १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्कको अध्यक्षतमा तथा नगर प्रमुख श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खुल्ला दिसामुक्त अभियानमा सहयोग पुर्याए वापत एक दर्जन टोल विकास संस्थालाई नगद २५ हजारसहित सम्मान गरेका थिए । त्यस्तै अन्य सामाजिक संघसंस्था, कर्मचारी लगायत दर्जनबढीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा खानेपानी तथा सरसफाई डिभीजन कार्यालय झापाका प्राविधिक रुद्रबहादुर न्यौपानले स्वीकृतीपत्र बाचन गरेका थिए ।