पथरी । सहकारी कर्मचारी संगठन पथरीशनिश्चरे इलाका समिति मोरङले चैत २० गते ६१ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ मनाउने भएको छ । सोमबार नेपाल पत्रकार महासंघ मोरङ पथरीशनिश्चरे सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गरी कार्यक्रमको बारेमा जानकरी गराएका थिए । संगठनले १९ गते ‘गाउँपालिका र नगरपालिकामा प्रस्तावित सहकारी ऐन २०७४ र स्थानीय निकायको भूमिका’ र ‘सम्पति शुद्धीकरण निवारण ऐन–२०७४’ विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम पथरीको मन्दिरलाइनमा गर्ने योजना रहेको छ । एकदिने अन्तरक्रियामा नगरपालिकाको नगरप्रमुख,उपप्रमुख, प्रशासकिय अधिकृत र १० वटै वडाको वडाध्यक्षहरु र नगरभरिका सहकारी सञ्चालक र कर्मचारीहरुको उपस्थीतमा सम्पन्न हुने संघका उपाध्यक्ष गणेशकुमार राईले बताए । त्यसैगरी चैत २० गते दुर्घटनालाई न्यूनीकरण गर्न ट्राफिक नियम सचेतनामूलक होर्डिङ बोर्ड राखिने भएको छ । होर्डिङ बोर्ड पूर्वपश्चिम लोक मार्गको पथरी बजार देखि दक्षिण वजार लाईन र मन्दिर लाइनको सडकमा राखिने भएको हो । त्यसैगरी सहकारी संस्थाहरुको संस्थापकहरुले मात्र सहभागी हुने गरी हाँडी फुटाई कार्यक्रमको योजना रहेको संघका अध्यक्ष तुलसी बस्नेतले बताए । त्यसैगरी नगर भित्रका सहकारी संस्थामा कार्यरत, संञ्चालक,सेयर सदस्य,सहकारी कर्मी सहितको टोलीले प्लेकार्ड, ब्यानर लिएर र्याली निकाली पथरीबजार परिक्रमा गरि कार्यक्रम समाप्त गरिने आयोजक समितिले जनाएको छ । कार्यक्रम सफल बनाउन संगठनले विभिन्न उपसमिति बनाएर कार्यक्रमको तयारी गरिरहेको संगठनको अध्यक्ष तुलसि बस्नेतले बताए । नगरभित्रको २५ वटा भन्दा वढी सहकारीको १ सय जना भन्दा वढी कर्मचारी आवद्ध रहेको छ ।