काठमाडौं/ एमाले र माओवादी केन्द्रको पार्टी एकता गर्न माधव नेपाल नेतृत्वमा गठित मस्यौदा कार्यदलको बैठक सरेको छ ।

अन्तरिम राजनीतिक प्रतिवेदन कार्यदलको उपसमितिले तयार पारेको प्रतिवेदनबारे थप छलफल गर्ने कार्यसूचि थियो । छलफलपछि त्यसलाई अन्तिम रुप दिने र बिहीबार पार्टी एकता संयोजन समितिलाई बुझाउने भनिए पनि तोकिएको समयमा बैठक नै बस्न सकेन ।

कार्यलदल संयोजक एवं नेता नेपाल व्यस्त भएकाले बैठक बस्न नसकेको कार्यदल सदस्य एवं माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले सुनाइन् । उनले अब अब राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई संवोधन गरिसकेपछि मात्रै विहिबार कार्यदलको बैठक बस्ने भनेकी छन् ।

कार्यदलमा भीम रावल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, रघुजी पन्त, नारायकाजी श्रेष्ठ, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल र देवेन्द्र पौडेल सदस्य छन् ।पार्टी एकता संयोजन समितिले गएको फागुनमा १५ दिनभित्र राजनीतिक प्रतिवेदनको मस्यौंदा तयार गर्न भन्दै यो कार्यदललाई भनेको थियो ।

समितिको म्याद फागुन २५, चैत ५ र वुधबार गरी तीन पटक थप भइसकेको छ । मस्यादालाई अन्तिमरुप दिने कुरामा भने अझै प्रगति भएको छैन ।

उपसमितिले बनाएको मस्यौदामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आन्दोलन, दुई पार्टीको पृष्ठभूमि, पार्टी एकताका आवश्यकता र औचित्य र त्यसका आधारहरु, नीति, योजना तथा कार्यक्रमहरु समावेश गरिएको बताइएको छ ।

एमाले–माओवादीका नेताहरुले कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने तयारी भइरकेको भनेका छन् । तर, अहिलेसम्म दुबै पार्टीबाट भएका प्रगति र कार्यदलको प्रगतिबारे खास कुरा आएको छैन । यसले बाहिर चर्चा भइरहेको समयमा पार्टी एकता नहुने संकेत पनि दिएको छ ।

चुनाव चिन्हमा कुरो मिल्नै कठिन पार्टी एकतापछि एकीकृत पार्टीको चुनाव चिन्ह के राख्ने रु भन्ने विषयमा विधान मस्यौदा कार्यदलमा छलफल भइरहेको छ तर, यसमा पनि सहमति हुने गति देदिएको छैन । कार्यदलका सदस्यहरू चुनाव चिन्हमा आ–आफ्नो अडानबाट रत्तिभर टस–मस भएका छैनन् । जसका कारण यसअघिका छलफल उपलब्धिहिन भएका छन् ।

विधान मस्यौदा कार्यदलका एक सदस्यले भनेका छन्, ‘मूल विवाद नै अहिले यसैमा छ ।’ यसअघि भएका कार्यदल बैठकले आ–आफ्ना प्रस्ताव पेश गर्दा एमालेले एकीकृत पार्टीको चुनाव चिन्ह सूर्य हुनुपर्ने प्रस्ताव पेश गरेको थियो, भने माओवादी केन्द्रले सूर्यभित्र हसिया हथौडा राख्नुपर्ने प्रस्ताव राखेको थियो ।

तर, यसमा दुवै पक्ष आफ्नो अडानबाट टस–मस भएका छैनन् । चुनाव चिन्हमा विहिबारसम्म सहमति नजुटे विधान मस्यौदा कार्यदल नालायक सावित हुनेछ भने, यसको जिम्मा शीर्ष नेताकै हातमा जानेछ ।