डोल्पा/भौगोलिक रूपमा अति दुर्गम मानिने डोल्पा जिल्लामा डा. गोविन्द केसी घरघरमा उपचार गर्न पुगेका छन् । माथिल्लो डोल्पाको धो तराप उपत्यकाकामा रहेका स्थानीयलाई हाडजोर्नीदेखि अन्य चेकजाँच गर्न आफू डोल्पा आएको हार्डजोर्नी विशेषज्ञ डा. केसीले जानकारी दिए ।

[caption id="attachment_78123" align="aligncenter" width="800"] फायलफाेटाे[/caption]

माथिल्लो डोल्पामा रहेका वृद्धदेखि अन्य बिरामीले सहजै स्वास्थ्य उपचार नपाउने र निकै भारी काम गर्नुपर्ने भएकाले हड्डीसम्बन्धी समस्या धेरै नै खेप्नुपर्ने भएकाले पनि आफूले माथिल्लो डोल्पाको धो नै रोजेको केसीले बताए । उनले भने, ‘तीनदिने शिविर तय गरेको छु, घरघरमा नै पुगेर बिरामीको उपचार गर्छु ।’ करिब ४ हजार उचाइमा रहेको डोल्पोबुद्ध गाउँपालिकाको धोका स्थानीयलाई घरैमा उपचार गर्ने लक्ष्यका साथ ६१ वर्षको उमेरमा माथिल्लो डोल्पा जान लागेको डा। केसीले जानकारी दिए । उनका अनुसार केही औषधि आफैंले बोकेर ल्याएको र जिल्लामा रहेका स्वास्थ्यका कर्मचारीहरूको सहयोगमा तीन दिनसम्म बिरामी चेकजाँच गर्ने बताए ।

हिमपात र चिसोका बीचमा पनि माथिल्लो डोल्पामा उपचार सेवा पुर्याउने साहस गरेकोमा कुनै पनि सहयोग गर्न पछि नपर्ने स्थानीय अगुवा छिरिङफुर्वा गुरुङले प्रतिबद्धता दिलाए । उनले भने, ‘स्वास्थ्य क्षेत्रका सामान्य कर्मचारी नदेखेका स्थानीयले हार्डजोर्नीका विशेषज्ञ घरमै पाउँदा भगवान नै पाएको अनुभूति गर्नेछन् ।’ डा. केसीलाई भेट्न गएका नागरिक अगुवा, मानवअधिकारकर्मीहरू र सञ्चारकर्मीहरूसँग कुरा गर्दै केसीले सरकारले विशेष व्यवस्थासहित गाउँगाउँमा चिकित्सक राख्नुपर्ने बताए । उनले भने, ‘स्थानीयलाई नै अवसर दिएर सेवा दिए सबैभन्दा प्रभावकारी हुन्छ र जनताले सेवा पाउँछन् ।’

चौथोपटक डोल्पा पुगेका केसीले हिमाली र दूरदराजमा रहेका नागरिकको उपचार गर्न पाउँदा निकै आनन्दको महसुस हुने भन्दै सरकारले सबै नागरिकलाई समान सेवा प्रदान गर्नुपर्ने बताए । उनका अनुसार माथिल्लो डोल्पामा नागरिकले सरकारले दिने सेवा सुविधाको जानकारी नै नपाएको र वञ्चितीकरणमा पारिएको दाबी गरे । विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको उपत्यका धो हिमपातले सेताम्मे रहेको भए पनि आफू घरघरमा नै पुगेर उपचार गर्ने डा। केसीको दाबी रहेको छ । उनी भन्छन्, ‘मलाई कुनै संख्यामा लक्ष्य पूरा गर्नु छैन मात्र बिरामीको उपचार गर्नु छ, ढुक्क छु चेकजाँच गरेरै आउँछु ।’ रेडियो, पत्रपत्रिका र टेलिभिजनमा मात्र चर्चाका पात्रका रूपमा सुनेका डोल्पाका स्थनीयहरूले डा। केसीसँग तस्बिर खिचाउँदै सामाजिक सञ्जालमा प्रशंसा गरेका छन् ।