धरान/ मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७ की ८ वर्षीया बालिकालाई वालात्कार गरेको आरोपमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन् । स्थानिय राजनैतिक दल तथा जनप्रतिनिधिले बलात्कारको घटना मिलाउन दबाब दिएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय बेलबारीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय बेलबारीका इन्पेक्टर रामजी कटुवालले बलात्कारका आरोप लागेका ६० वर्षीय जीतबहादुर मगरलाई पक्राउ गरिएको र पिडित पक्षले दिएको जाहेरीको आधारमा अनुसन्धान थालिएको जानकारी दिए । मगरले बिस्कुट दिने वहानामा घरमा बोलाएर मगरले उनीमाथि बलात्कार गरेको पीडित पक्षको दावी छ ।
ती बालिकाकी ११ वर्षीया दिदीले देखेपछि बहिनीको उद्धार गरेर घर लगेकी थिइन् । त्यसपछि आमाले घटनाबारे जानकारी पाएकी थिइन् । बालिकालाई तत्काल बेलबारीको स्वास्थ्य केन्द्रमा समान्य उपचारपश्चात धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचार गरिएको थियो ।