शनिश्चरे । १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राईले महिलाहरुले अवसर लिनका लागि आफ्नो क्षमता विकासको जरुरी रहेको वताउँदै विभिन्नखाले तालिम लिनु र सीप सिक्न पर्नेमा जोड दिएकी छन् ।

मोरङको पथरीशनिश्चरे १० स्थित नवदुर्गा महिला समितिको आयोजनामा महिलाहरुका लागि उद्घोषण तथा महिला हिंसा विरुद्धको ७ दिने तालिमको शनिवार उद्घाटन्का क्रममा उनले त्यस्तो जोड दिएकी हुन् । उनले महिलाहरु यसखाले तालिमबाट थप सृजनशील वन्ने अपेक्षा व्यक्त गरिन् ।

कार्यक्रमको विशेष अतिथि नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाले पिठ्यूमा गिट्टी कुट्ने महिला समेत उद्यमी वन्ने प्रकारको तालिम दिएर सहज जीवनयापनको वाटो देखाइदिनु स्थानीय सरकारको आवश्यकता भएको औंल्याइन् । त्यसखाले कामका लागि आफुले नगरपालिकामा योजना वनाउने समेत उल्लेख गरिन् ।

युएएनएचसीआरका दमकस्थित प्रोटेक्सन अफिसर क्याथरिन हेरिसले पनि स्थानीय र भूटानी शरणार्थी शिविरका महिलाहरुलाई सहभागि गराएर तालिम र सहयोगको आदान प्रदान गर्नु महत्वपूर्ण कुरा भएको वताइन् । वडा सदस्य मैनादेवी फुयाँल आचार्य, समिति अध्यक्ष मिनाक्षी तामाङ सहितले मन्तव्य राखेका छन् ।

वडाको शिविर र वस्तीका गरी ३५ जनाको सहभागिता रहेको तालिममा उद्घोषणकला र नेतृत्व विकास सम्वन्धमा नगरपालिकाका सूचना संयोजक भूपेन्द्र तिम्सिना, युवा अभियन्ता लोककिरण न्यौपाने र कानूनी पक्षका बारेमा युएनएचसीआरका हेम श्रेष्ठले सहजिकरण गर्दैछन् । महिला लक्षित कार्यक्रम अन्तर्गत वडाका लागि विनियोजित ८० हजार रुपैयाँबाट तालिम प्रदान गरिएको हो ।