पाँचथर । औषधि सेवन गरेर ७ महिनाको गर्भ फाल्न खोज्दा पाँचथरकी एक युवतीको झन्डै ज्यान गएको छ । उनले चार दिन अघि घरैमा गर्भ फाल्ने औषधि सेवन गरेकी थिइन् ।
अचानक पेट दुख्यो भन्दै रोइकराई गर्न थालेपछि २६ बर्षिया ती युवतीलाई परिवारले एम्बुलेन्स मार्फत जिल्ला अस्पताल पु¥याएका थिए । उपचारको क्रममा चिकित्सकले ‘उनको पेटमा बच्चा छ’ भन्दा परिवार आश्चार्यमा परेको परिवारका एक सदस्यले बताए । अस्पताल पु¥याएको केही समय पछि उनले बच्चा जन्माएकी थिइन् । बच्चा केही बेरमा मरेको बताइएको छ । केही समय मात्र अस्पताल ल्याउँन ढिलो गरेको भए उनको ज्यानै जाने खतरा रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । ती युवती १७ महिना अघि बैदेशिक रोजगारीको शिलशिलामा जोर्डन गएकी थिइन । युवतीका अनुसार त्यहाँ एउटै कम्पनिमा काम गर्ने राजवंशी समुदायका एक नेपाली युवक सँग उनको प्रेम बस्यो र शारीरिक सम्बन्ध पनि भयो । त्यसै क्रममा गर्भ बसेपछि दुबैको सल्लाहमा नेपाल आई गर्भ फालेर पुनः जोर्डन जाने गरी उनी करीब दुई साता अघि स्वदेश फर्केकी थिइन् । काठमाण्डौंमै गर्भ फाल्ने औषधि किनेकी उनले घर पाँचथर आएपछि घरैमा औषधि सेवन गरेकी थिइन् । जसले झन्डै उनको ज्यान लियो । आफ्नो प्रेमीको थर राजवंशि हो भन्ने थाहा भए पनि उसको खास नाम र नेपालको ठेगाना समेत थाहा नभएको ती युवतीले बताइन् । गर्भ फालेर पुनः जोर्डन फर्कि केही पैशा कमाएर नेपाल आई बिवाह गर्ने सल्लाह भएको उनको भनाई छ । हाल उनको प्रहरी निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । ती युवती उपर भ्रुण हत्या अभियोगमा कानुनी प्रक्रिया अगाडी बढाएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नो श्रीमानको सवारी दुर्घटनामा मृत्यु भएपछि पाँच बर्षे छोरालाई घरमै छाडि उनी पैशा कमाउँन १७ महिना अघि जोर्डन पुगेकी थिइन् ।